काठमाडौं - चितवनको जलबिरेमा सवारी साधनहरू एकापसमा ठोक्किँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड दुर्घटनाग्रस्त सवारी साधनहरू हटाएर दुईतर्फी नै सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले सडक पूर्ण रूपमा सुचारु भएको जानकारी दिएका हुन्। काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी करिब २५ जना यात्रु घाइते भएका छन्।
वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गरेको उक्त सडकखण्ड आज बिहान ६ बजे खुला गरिएको थियो। सडक खुल्नेबित्तिकै सवारी साधनहरूले लेन पालना नगर्दा यो दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ। हाल सडक डिभिजन कार्यालयले सो क्षेत्रमा लेन अनुशासनमा रही सीमित गतिमा मात्र सवारीसाधन चलाउन सम्पूर्ण चालकहरूलाई अनुरोध गरेको छ।