टोकियो । जापानको राजधानी टोकियोमा जुन ७ तारिख आईतबार नेपाली भाषा, साहित्य र कविताको सुगन्धले भरियो । शब्द, भावना र सिर्जनाको संगम बनेको उक्त अवसर थियो अनेसास जापान च्याप्टर द्वारा आयोजित ८३ औँ नियमित साहित्य शृङ्खला, जहाँ हवाई च्याप्टरकी अध्यक्ष तथा चर्चित कवि अमृता स्मृति सँग विशेष अन्तर्क्रिया तथा खुला रचना वाचन कार्यक्रम समेत सम्पन्न भयो।
टोकियोको सिनओकुबोमा आयोजित कार्यक्रममा अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरे को अध्यक्षता तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष डा। कुमार वस्नेत, बिओटी उपसभापति विष्णु प्रसाद घिमिरे तथा पूर्वअध्यक्षहरू दीप पाठक र अरुण पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
संस्थाका सदस्य विश्वबन्धु भण्डारी को स्वागत मन्तव्यसँगै सुरु भएको पहिलो सत्रमा कवि अमृता स्मृतिसँग रोचक अन्तर्क्रिया गरिएको थियो। कार्यक्रमको सहजीकरण अनेसास जापानका उपाध्यक्ष शरद पोख्रेल ले गर्नुभएको थियो । अन्तर्क्रियाका क्रममा अमृता स्मृतिले आफ्ना करिब एक दर्जन कविता वाचन गर्दै समकालीन साहित्य, सिर्जनात्मक यात्रा र नेपाली भाषाको वर्तमान अवस्थाबारे विचार व्यक्त गर्नुभयो। उहाँले जापानमा नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि भइरहेका गतिविधिहरूको खुलेर प्रशंसा गर्दै विदेशमा बस्ने नेपाली समुदायले साहित्यको विकासमा खेलेको भूमिकालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि सुभाष लामिछाने, डा। कुमार वस्नेत, विष्णु प्रसाद घिमिरे, हारूहितो नोजू, अर्जुन लामिछाने, रामकृष्ण बम मल्ल तथा समुन्द्रराज पौडेल लगायतले मन्तव्य व्यक्त गर्दै अनेसास जापानले निरन्तर सञ्चालन गर्दै आएको साहित्यिक अभियानको प्रशंसा गर्नुभएको थियो।
त्यसपछि सुरु भएको खुला रचना वाचन सत्र झन् आकर्षक बन्यो। साहित्यप्रेमी तथा स्रष्टाहरूले आफ्ना कविता, गजल र सिर्जनाहरू प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। रचना वाचन गर्नेहरूमा दीप पाठक, अरुण पौडेल, सुजन बैरागी, सुजता शर्मा, मीनराज बास्तोला, हेमन्त गिरी, सविना रेग्मी, लक्ष्मी पौडेल, लक्ष्मण भन्तना शिरीष, हरिविनोद अधिकारी, मनिषा सुबेदी, संगीता कुँवर, यमलाल कँडेल तथा विश्वबन्धु भण्डारी लगायत रहनुभएको थियो।
भगवती क्षेत्री को संयोजकत्व तथा मनोज मौसम केसी को आकर्षक उद्घोषणमा सम्पन्न कार्यक्रममा टोकियो आसपासबाट ७० भन्दा बढी साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा कवि अमृता स्मृतिलाई मायाको चिनो प्रदान गरिएको थियो। सभाध्यक्ष दीपा घिमिरेले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै अनेसास जापानले आगामी दिनमा पनि यस्ता साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विदेशी भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको दीप प्रज्वलित राख्ने अनेसास जापानको यो ८३औँ शृङ्खला केवल एउटा कार्यक्रम मात्र होइन, नेपालीपन र सिर्जनशीलताको उत्सव बनेर स्मरणीय रह्यो।