जापान । कामवाट फर्किएपछि हरेक दिन जसो यस्सो फेसबुक खोल्ने मेरो बानी एकदिन फेसबुक खोलेर हेर्दा मैले नजिकवाट चिनेका एकजना बा को स्टाटस मा आँखा पुग्यो । "कमाई खाने आसेपासेहरु अब बिस्थापित भयो, सुशासन, पारदर्शिता र जवाफदेहिताको विचारहरु स्थापित भयो ३५ बर्ष देश लुट्नेहरुका दिन गए, अब रास्वपा आयो, घण्टी जिन्दावाद ।"
झट्टै हेर्दा यो स्टाटस ओजिलो थियो, मलाइ राम्रो सगँ थाहा छ ति बा यसरी ओजिलो झट्ट स्टाटस लेखिहाल्ने मान्छे त होइनन् तर त्यो दिन कतैवाट कपी गरेर हाले भन्ने मलाइ लाग्यो, केहि महिनादेखि उनको स्टाटसमा पुराना दलका नेताहरु प्रति गाली गरेको मात्रै देखिन्थ्यो, त्यति मात्रै कहाँ हो र गाउँका कसैले लेखेका स्टाटसमा गएर अलि अपाच्य र गाली शैलीका कमेन्टहरु लेखिरहन्थे । त्यसदिन तिनले लेखेको त्यो स्टाटस पढेपछि म केहीबेर मोबाइलको स्क्रिनमै अडिएँ । शव्द नयाँ थियो,नारा नयाँ थियो र उनले बाकेको झण्डा नयाँ थियो तर ती शब्द पढ्दै गर्दा मेरो दिमागमा भने एउटा पुरानो अनुहार आइरहेको थियो। उहाँको पुरानो यथार्थताको याद आईरह्यो । मनमा झट्ट प्रश्न उठ्यो - उनले पार्टी मात्रै फेरे होलान् कि नियत र प्रवृति पनि फेरे होलान् ?
बा अचेल रास्वापाका खुखांर कार्यकर्ता घण्टी बजाउँदै हिँडेको देख्दैछु । मलाई अचम्म लागेको घण्टी बजाएकोमा होइन हिजोको मान्छे आजको पार्टीमा प्रवेश गरेपछि हिजोका सबै प्रश्नहरू पनि पार्टी प्रवेशसँगै चोखिएका हुन कि क्या हो ?
म जन्मनुभन्दा अघिदेखि नै उहाँ पञ्चायतमा लाग्नुभएको थियो । बहुदल आयो । २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको उम्मेदवार भएर चुनाव पनि लड्नुभयो । म राजनीतिक परिवारमै हुर्किएको मान्छे, त्यसैले उहाँ बेला-बेला हाम्रो घरमा आइरहनुहुन्थ्यो । कताकता पारिवारिक नाता पनि थियो । त्यसैले उहाँलाई नजिकबाट चिनेको छु । त्यो बेला अहिले जस्तो एउटै नगरपालिका थिएन । उहाँको गाविस अलग, हाम्रो गाविस अलग । समय बित्दै गयो । बहुदल पछि देशको बिभिन्न गाउँहरुमा जस्तै हाम्रा गाउँमा पनि बिभिन्न दलका नेता भनाउँदाहरुले बाडिँचुडी खाने खेलो सुरू गरे, विद्यालय व्यवस्थापन समिति होस्, वन समिति, कुलो समिति, खानेपानी समिति वा गाउँको सानो चौतारो बनाउने समिति जताततै कांग्रेस एमालेहरुले बाँडिचुडी पद लिन्थे, बा जता पनि पद लिन पुगिहाल्थे, कतै न कतै उहाँको नाम आइहाल्थ्यो ।
म सात आठ कक्षामा पढ्ने समयको कुरा हो रेडियो नेपालमा केदार खड्काको ‘असल शासन’ भन्ने कार्यक्रम आउँथ्यो। म नियमित जस्तै सुन्थेँ। सायद रेडियो कार्यक्रमले मेरो कान मात्रै खोलेन, गाउँ हेर्ने आँखा पनि अलि फरक बनाइदियो ।
गाउँमा कसले कुन समिति बनायो ?
कसले कुन कामको जिम्मा लियो ?
कहाँबाट बजेट आयो ?
काम कति भयो ?
हिसाब कहाँ गयो ?
यस्ता प्रश्नहरू खोज्दै गाउँमा अनुसन्धान गर्न सिकेको थिएँ । हामी केही साथी मिलेर मेरो अध्यक्षतामा ‘जनहित असल शासन रेडियो स्रोत क्लब गठन गरेका थियौँ । त्यही क्लबको योजना अनुसार गाउँमा पहिलोपटक भित्ते पत्रिका निकाल्ने जाँगर चल्यो । मेरो घरमा किराना पसल थियो । गाउँको स्कुल नजिकै, र मान्छेहरु आवात जावात गर्ने मुख्य बाटो त्यही पसलको अगाडिबाट जान्थ्यो । पसल अगाडी दुईवटा बाँसका लिगां गाड्यौँ । काठमा किला ठोक्यौ र टिनको सादा पातालाई मिलाएर चारकुने बनायौँ । अनि कापीका पानामा लेखेर टाँस्न थाल्यौँ । गाउँका हामी बालबालिकाले लेखेका कविता,गजल, हाजिर जवाफका सामग्री सहित गाउँका सूचना लेखेर टाँस्न थालियो ।
त्यही बेला गाउँमा एउटा गाइँगुइँ हल्ला चल्यो 'कुलो निर्माणका लागि गाविसबाट परेको बजेटमा अनियमितता भयो रे' । मैले पनि सुनेँ । कुरा कति सत्य, कति हल्ला त्यो छुट्याउने उमेर र क्षमता दुवै मसँग थिएन । तर प्रश्न उठाउने उमेर भने आइसकेको रहेछ । मैले त्यही चर्चालाई आधार बनाएर एउटा प्रश्न उठाउँदै समाचार लेखेँ । भित्ते पत्रिकामा टाँसेँ । गाउँभरि कुरा फैलियो । त्यसपछि म गाउँको ‘समाचार’ भन्दा बढी ‘समस्या’ बन्न पुगेँ। धेरैले मलाई हकारे । गाली गरे । ‘केटाकेटीले राजनीति गर्न थाल्यो’ भनेर स्कुलमा सरहरुले पनि हप्काए । एकदिन त भित्ते पत्रिकाको लिगां नै उखेलेर फालिदिए । हामीले फेरि गाड्यौँ । फेरि उखेलियो । फेरि गाड्यौँ । त्यो भित्ते पत्रिका धेरै टिकेन । म उच्च शिक्षाका लागि बुटवलतिर छिरेँ । भित्ते पत्रिका बन्द भयो । तर गाउँमा समिति बनाउने मिलीजुली खाने राजनीति भने बन्द भएन । स्कुल बनाउँदा सिमेन्ट चोरेर बेचे, बाटो बनाउदाँ खोलावाट ल्याएको गिटी बालुवा चोरेर आफ्नै घर बनाए, नक्कली बिल बनाएर त कति लुटे लुटे,
समय बित्दै गयो । २०६० सालतिर कांग्रेसले बन समितिको अध्यक्ष बन्न नदिएपछि बा कांग्रेस छोडेर एमालेतिर लागे । झण्डा फेरियो पार्टी फेरियो, तर गाउँलेले चिनेको व्यवहार फेरियो कि फेरिएन त्यो मूल्याङ्कन गाउँलेले नै गर्लान् । संविधानसभाको चुनावताका म गाउँ पुग्दा ति बा माओवादीमा छिरिसकेका रहेछन् । मैले मनमनै सोचेँ - ‘बा पनि कति छिटो समयसँगै हिँड्नुहुदोँ रहेछ’ त्यसपछि केही वर्ष राजनीतिक दृश्यबाट अलि ओझेल परेका बा अहिले फेरि देखापरेका छन् । यसपटक - घण्टी बोकेर ।
अहिले बा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता । फेसबुकमा ३५ वर्षसम्म लुटेकाहरूको दिन गए भनेर फलाकिरहेछन् । त्यो पढ्दा मलाई हाँसो उठेन । रिस पनि उठेन । बरु पुरानो भित्ते पत्रिका सम्झिएँ । गाउँको त्यो कुलो र बन समितिहरु सम्झिएँ र सम्झिएँ—पञ्चायतदेखि बहुदल, कांग्रेसदेखि एमाले, एमालेदेखि माओवादी हुँदै आज घण्टीसम्म आइपुगेको एउटा राजनीतिक यात्रा । त्यसपछि मनमा एउटा सानो प्रश्न जन्मियो - पार्टी फेरिँदा विगत पनि फेरिन्छ र ?
हिजोका ति भ्रष्ट बा ले रास्वपा प्रवेश सगैँ अचेल गाउँमा नयाँ परिचय पाएका छन् राष्ट्रवादी, परिवर्तनकारी, भ्रष्टाचारविरोधी । अचेल घण्टी बजाउन थालेपछि वरिपरिका केही कार्यकर्तालाई यस्तो लाग्छ, मानौँ घण्टीको आवाजले मान्छेको विगत नै पखाल्छ ।
म कसैको राजनीतिक आस्था प्रति कटाक्ष गर्न खोजिरहेको छैन, कुन पार्टीमा लाग्ने, कसलाई समर्थन गर्ने त्यो प्रत्येक नागरिकको आफ्नो अधिकार हो । तर झण्डा फेर्दैमा विगतको खराव नियत त्यसै कहाँ पखाल्न पाईन्छ र ? आज अरूलाई ‘३५ वर्षसम्म लुट्नेहरू’ भनेर औँला ठड्याउँदा एउटा प्रश्न आफूले पनि सुन्ने कि नसुन्ने ? ती ३५ वर्षमा गाउँको स्कुलको सिमेन्ट चोरेर बेचेको पैसा खै ? खानेपानीको पाईप चोरेर आफ्नै घरकाे शौचालयमा लगेर किन हालेको ? गाउँलेलाई जवाफ दिनु पर्दैन ?
झण्डा फेरिन सक्छ । दल फेरिन सक्छ । नारा फेरिन सक्छ । तर मान्छेको विगत भने फेसबुकको पोस्ट डिलिट गरेजस्तो डिलिट हुँदैन । त्यो गाउँका मान्छेको सम्झनामा हुन्छ । कसैको आँखामा हुन्छ । कसैको पुरानो डायरीमा हुन्छ । भित्ते पत्रिकाको समाचार च्यातिएका होलान् तर मेरो र गाउँका ईमान्दार मानिसहरुको मस्तिष्कवाट च्यातिएको छैन । त्यसैले मेरो प्रश्न बा प्रति मात्रै होइन । हामी सबैप्रति हो राजनीतिक दल बदल्दैमा मान्छेको चरित्रको हिसाब पनि रद्द हुने त होइन होलानी ? नयाँ नारा लगाउँदैमा गाउँलेले वर्षौँदेखि देखेको व्यवहार बिर्सनुपर्ने हो ?
अझ अचम्म त तब लाग्छ, जब नयाँ पार्टीका केही कार्यकर्ताले हिजोका विवादित पात्रलाई आज एकै रातमा ‘परिवर्तनका महान योद्धा’ बनाइदिएका छन् । हिजो जसलाई गाउँलेले प्रश्न गर्थे, आज उसैलाई ‘परिवर्तनका योद्धा’ भनेर माला लगाइन्छ । हिजो जसले गाउँमा बदनामी कमायाे आज उसको हातमा घण्टी देखेपछि ‘देश बचाउने मान्छे’ भनेर जयजयकार हुन्छ । हिजोको हिसाब माग्दा व्यवहारमाथि प्रश्न उठाउँदा आज पार्टी सदस्यता कार्ड देखाएर चोख्याईएको छ । नयाँ पार्टीमा प्रवेश गरेको दिनबाट मानौँ मान्छेको चरित्रको नयाँ जन्म हुन्छ ।
कति सजिलो छ है "झण्डा फे¥यो, चरित्र फेरियो । पार्टी फे¥यो, इतिहास फेरियो । घण्टी बजायो, विगत चोखियो ।" यदि राजनीति यति सजिलो हुने हो भने देश बनाउन नीति, विचार र इमानदारी किन चाहियो र ? एउटा सदस्यता फारम भरे पुगिहाल्यो नि । देश यसरी बन्दैन । देश कुनै एउटा पार्टीले मात्र बिगारेको होइन र कुनै नयाँ पार्टीले पनि जादुको छडी घुमाएर बनाउने होइन । देश पार्टीको नामले भन्दा पार्टीभित्र पस्ने गलत नियतका मानिसले बिगार्छन् । पुरानो पार्टीमा गलत काम गरेको मान्छे नयाँ पार्टीमा छिरेपछि स्वतः असल हुँदैन । नयाँ पार्टीमा लागेका सबै मान्छे खराब पनि हुँदैनन् र पुराना पार्टीमा लागेकाहरु पनि सबै कहाँ खराव छन् र । मेरो प्रश्न कुनै राजनितिक दलसगँ होईन मेरो प्रश्न त्यो प्रवृत्तिसँग हो, जसले कुनै पनि नयाँ पार्टीलाई पुराना गलत मानिसको धुलाई मेसिन बनाईरहेका छन् ।
देश पार्टीको नामले बिग्रिएको छैन, पार्टीभित्र प्रवेश गर्ने गलत नियतका मान्छेले पार्टीको नामलाई आफ्नो स्वार्थको खोल बनाएपछि बिग्रिएको छ । समस्या पार्टीको नाममा होइन, व्यक्तिको नियतमा छ । यो कुरा बुझ्न नसकि आफ्नो पार्टीमा लाग्नेहरुको नियत खराव छ भन्ने जान्दा जान्दै पनि भजन गाईरहने हो भने हामी फेरि त्यही पुरानो कथा दोहो¥याउनेछौँ - झण्डा नयाँ । नारा नयाँ । अनुहार उही । प्रवृत्ति उही । अनि केही वर्षपछि फेरि हामी फेसबुकमा लेख्नेछौँ - ‘देश बिगार्नेहरूलाई अब विदा गरौँ ।’
त्यतिबेला प्रश्न फेरि उही हुनेछ - बिगार्नेहरू बाहिरबाट आएका थिए कि हामीले नै हरेक पटक नयाँ झण्डामुनि भित्र्याएका थियौँ ? त्यसैले मान्छेलाई झण्डा बाेकेकाे अाधारले होइन - विगतले, नियतले र कामले चिनौँ । किनकि इतिहास फेसबुक स्टाटस मेटेजस्तो मेटिँदैन । मन पर्छ भने दिल खोलेर घण्टी बजाउनुस् । तर घण्टीको आवाजले पुरानो हिसाबको आवाज नछोपियोस् ।