टाेकियाे । जापानको राष्ट्रिय फुल साकुरा, हरेक बर्ष मार्च अप्रिलमा साकुरा फुलेर सेताम्ये बन्ने मौसम त्यहि मौसमको सदुपयोग गर्दै साकुराको फेदमुनी नेपाली साहित्यको सुगन्ध फैलिने भएको छ। साकुराको छायाँमा नेपाली साहित्य र नेपालीहरुको सुन्दर भेट गराउने अबसरको चाँजोपाँजो मिलाएको छ अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले ।
जापानमा बसोबास गर्ने नेपालीहरूका लागि साहित्य र संस्कृतिलाई जोड्ने एउटा विशेष कार्यक्रम आयोजना हुने भएको हो। साकुराको सुन्दर मौसमसँगै आयोजना हुन लागेको यो कार्यक्रम आगामी ५ अप्रिल २०२६ आइतबारका दिन दिउँसो १२ ३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम जापानको चिवा केनको इचिगावा शहरमा रहेको रमणीय स्थल साकुरा चचुमी पार्क मा आयोजना हुने भएको छ।
कार्यक्रमको विशेष आकर्षण भनेको सहभागीहरूले घरबाटै बनाइ ल्याएका नेपाली परिकारहरू सँगै बसेर स्वाद लिँदै, कविता, गजल र विभिन्न साहित्यिक रचनाहरू सुन्ने तथा सुनाउने वातावरण हुने कार्यक्रम संयोजक यमलाल कंडेलले जानकारी दिनुभएको छ । साकुराको फुलले ढाकिएको पार्कको वातावरणमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई सम्झाउने यो कार्यक्रमले विदेशमा रहेका नेपालीहरूलाई आफ्नोपनको अनुभूति दिलाउने विश्वास गरिएको छ।
जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले अनुरोध गरेको छ ।