×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असार १६ र १७ गते भारी वर्षाको सम्भावना: सतर्क रहन प्राधिकरणको आग्रह

असार १६ र १७ गते भारी वर्षाको सम्भावना: सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेहरू र पहिरोको जोखिममा रहेका स्थान एवं खोला/नदी किनाराका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गरेको छ।

दुई दिन मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले डुबान क्षेत्रका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान प्राधिकरणले सचेत गराएको छ।

विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र साझेदार संस्थाहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ। जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर जस्ता साधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बरमा तत्काल फोन गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्