धनगढी- ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनलाई चरितार्थ गर्दै आज प्रदेशभर बिसु पर्व भव्य रूपमा मनाइँदैछ। नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मनाइने यो पर्वले सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काएको छ।
वर्षभरि देश–विदेशमा रहेका आफन्तहरू एक दिन भए पनि घर फर्कनैपर्ने परम्परागत मान्यताका कारण यतिबेला गाउँबस्तीमा विशेष चहलपहल र उत्साह बढेको छ। भारत लगायत अन्य क्षेत्रबाट घर फर्कनेहरूको सीमानाकामा ठूलो घुइँचो लागेको छ, जसमा पहाडी क्षेत्रका बासिन्दाहरूको संख्या उल्लेखनीय छ।
पारिवारिक पुनर्मिलन र मौलिक स्वाद
बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन र सामाजिक एकताको प्रतीक बनेको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीका अनुसार, यस अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक र माणा जस्ता मौलिक परिकारहरू तयार पारिन्छन्। यी परिकारहरूले पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीलाई प्रतिनिधित्व गर्दछन्।
स्वास्थ्य र धार्मिक विश्वास
बिसुको अर्को महत्वपूर्ण पक्ष बिहानै गरिने अनिवार्य स्नान हो। ब्रह्ममुहूर्तमा स्नान गर्नाले रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास छ। यो दिन ननुहाए ‘विष लाग्ने’ भन्ने रोचक मान्यता समेत प्रचलित छ। स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर खुसी साटासाट गर्ने गरिन्छ।
सिस्नो लगाउने अनौठो परम्परा
यस पर्वको सबैभन्दा रोचक पक्ष ‘सिस्नो लगाउने’ चलन हो। स्थानीय संस्कृतिका जानकार तर्कराज भट्टका अनुसार देवर–भाउजूबीच सिस्नो लगाएर ठट्टा गर्ने चलनले सम्बन्धमा आत्मीयता र निकटता बढाउँछ। भाउजू नभएकाहरूले आफैँलाई सिस्नो छुवाउने गर्छन्, जसले शरीरको विकार हट्ने र बाथ जस्ता रोग नलाग्ने विश्वास गरिन्छ। यद्यपि, आधुनिक जीवनशैलीका कारण यो रोचक रौनक बिस्तारै ओझेलमा पर्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
शुभ साइतको दिन
ज्योतिषीय दृष्टिले बिसु पर्वलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिन मानिन्छ। यस दिन विवाह, व्रतबन्ध वा गृहप्रवेश जस्ता शुभकार्यका लागि साइत हेर्नु नपर्ने स्थानीय दामोदर जोशी बताउँछन्।
आधुनिकता र व्यस्तताका बीच केही परम्पराहरू फेरिए पनि बिसु पर्वको मूल सार र यसले दिने सामाजिक एकताको सन्देश भने अझै पनि जीवन्त र सशक्त रहेको छ।