काठमाडौं - नुवाकोट लिखु गाउँपालिका–६ का युवा र्यापर सागर सुनार अहिले नेपाली हिपहप क्षेत्रमा आफ्नै पहिचान बनाउँदै अघि बढिरहेका छन् । २०५४ माघ १४ गते जन्मिएका सागर सानैदेखि कविता, गीत–संगीत र समाजसेवाप्रति आकर्षित थिए। गाउँघरमै हुर्किंदै गर्दा उनले समाजमा रहेको छुवाछुत, विभेद, बलात्कारजस्ता विकृति नजिकबाट देखे, जसले उनलाई सोच्न बाध्य बनायो ।
नेपाली र्यापका चर्चित कलाकार यम बुद्द बाट प्रेरित सागरले आफ्ना कवितालाई विस्तारै र्यापमा ढाल्न थाले। स्कुलका कार्यक्रमदेखि सुरु भएको उनको हिपहप यात्रा काठमाडौं आएपछि अझ संघर्षपूर्ण बन्यो। पढाइसँगै मूर्ति बनाउने काम, होटलमा भाँडा माझ्ने काम गर्दै उनले आफ्नो संगीत यात्रालाई कहिल्यै रोक्न दिएनन्। कहिलेकाहीँ भोकै सुत्नुपरेको पीडा, आर्थिक अभावका कारण कलेज टुर समेत छुटाउनुपरेको क्षण आज पनि उनको सम्झनामा ताजा छ।
तर संघर्षले उनको सपना रोकेन। सागरका लागि हिपहप केवल मनोरञ्जन होइन, “समाजको ऐना” हो। उनले आफ्ना गीतमार्फत समाजका विकृति–विसंगति उठाउँदै सकारात्मक सन्देश दिन थाले। उनका “संघर्ष”, “अस्मिता गायब”, “किसान”, “आमा”, “बाध्यता” र “प्रश्न” जस्ता गीतहरूले धेरै युवालाई सोच्न र प्रेरित हुन बाध्य बनाएका छन्।
जलजला राष्ट्रिय म्युजिक तथा फिल्म अवार्ड २०८०, आदर्श नेशनल अवार्ड २०८१, Genius Music Award 2080 लगायतका सम्मान प्राप्त गरिसकेका सागर अहिले स्टेज शो, पोडकास्ट र नयाँ गीतहरूको तयारीमा व्यस्त छन्।
सागर भन्छन् -“म भाइरल हुन वा सेलिब्रेटी बन्न र्यापमा लागेको होइन। मेरो गीतले कसैको सोच बदलियोस्, कसैले प्रेरणा पाओस् र समाज परिवर्तन होस् भन्ने चाहना हो।”
संघर्षलाई शक्ति बनाउँदै हिपहपमार्फत समाज परिवर्तनको आवाज उठाइरहेका सागर सुनारको यात्रा धेरै युवाका लागि प्रेरणाको कथा बनेको छ।