काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म 'आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ' काठमाडौँमा आयोजना गर्ने भएको छ।
उक्त प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (CWCL2) का अन्तिम चार टोली तथा आईसीसी सीडब्ल्यूसी च्यालेन्ज लिग 'ए' र 'बी' का शीर्ष दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ। यस प्रतियोगिताबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको 'आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्स' का लागि छनोट हुनेछन्।
यसैबीच, डिसेम्बर ९, ११ र १३ मा निर्धारण गरिएको नेपाल र भारत 'ए' (India A) बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा तय गरी पछि सार्वजनिक गरिने क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
