डब्लिन । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति आयरल्याण्डको दोस्रो अधिवेशनले सागर लामालाई सभापतिमा सर्वसम्मत चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ । १० सेप्टेम्बर २०२६ मा राजधानी डब्लिनमा सम्पन्न अधिवेशनले लामाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नेतृत्व चयनसँगै समितिले प्रवासमा रहेका नेपालीलाई संगठित गर्दै नेपाली कांग्रेसको संगठनलाई थप प्रभावकारी बनाउने जिम्मेवारीसमेत पाएको छ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा प्रविन बराल, महामन्त्रीमा रवि अर्याल, प्रवक्तामा मनिषा बिमली, कोषाध्यक्षमा सुनिता अधिकारी चयन हुनुभएको छ। यस्तै, सहमहामन्त्रीमा पार्वती आचार्य र राजेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ। कार्यसमिति सदस्यमा धर्मराज तिमिल्सिना, महेन्द्र गुभाजु, दुर्गा प्रसाद कँडेल, सुदिप गौतम र नवराज भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ।
निवर्तमान सभापति अंकित ओलीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले प्रवासमा रहेका नेपालीहरूको भूमिका पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले आगामी १५औँ महाधिवेशनमा प्रवासी नेपालीहरूको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
प्रवासमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र पार्टी संगठन निर्माणमा समेत उल्लेखनीय भूमिका खेल्दै आएको पौडेलले बताउनुभयो। उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गैरआवासीय नेपालीहरूको हकहित, अधिकार र भावनालाई नेपाली कांग्रेसले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट विष्णुबहादुर क्षेत्री केन्द्रीय निर्वाचन प्रतिनिधि तथा जनसम्पर्क समिति डेनमार्कका संस्थापक अध्यक्ष डोलराज पौडेल (नवीन) केन्द्रीय निर्वाचन पर्यवेक्षकका रूपमा खटिनुभएको थियो।
निवर्तमान महामन्त्री छमन रानाले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान सभापति ओलीले आफ्नो कार्यकालमा भएका सांगठनिक गतिविधि, प्रगति तथा उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपसभापति अभिनाश घिसिङ तथा संस्थापक सदस्य एवं सल्लाहकारहरू विनोद कार्की, नवराज कोइराला र प्रकाश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण तथा विदेशबाट नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन समितिले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो।
निर्वाचन प्रक्रिया समितिका संस्थापक सभापति एवं प्रमुख निर्वाचन आयुक्त शुक्रराज न्यौपानेको नेतृत्वमा सम्पन्न भएको थियो। सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गर्दै न्यौपानेले अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो। सर्वसम्मत नेतृत्व चयनलाई प्रवासमा कांग्रेसको संगठनात्मक एकता र सहकार्यको सन्देशका रूपमा हेरिएको छ।