जनकपुर - धनुषा प्रहरीले दृष्टिबन्धकमा राखिएको जग्गा जग्गाधनीलाई थाहै नदिई बैंकमा धितो राखेर ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम-१६ का ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती रेखा साह र छोरा हरेराम साह छन्। उनीहरूलाई जनकपुर, जटही सीमा नाका र काठमाडौँबाट छुट्टाछुट्टै टोलीले पक्राउ गरेको हो।
पीडित गोविन्द कुमार साहले व्यापारका लागि गोपालसँग ९९ लाख ऋण लिँदा जग्गा दृष्टिबन्धक राखिदिएका थिए। तर, साह परिवारले सोही जग्गा बैंकमा राखेर ४ करोड ऋण निकालेको खुल्यो। गोपालको घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता र विभिन्न सरकारी छापसमेत बरामद भएको छ।