×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौँ। श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेको शानदार अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक रूपमा पूरा गरेको हो।

यस जितसँगै सुदूरपश्चिमले अब आगामी शनिबार हुने उपाधि भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ। यसअघि पहिलो क्वालिफायरमा लुम्बिनीसँगै पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरको अवसर सदुपयोग गर्दै फाइनलमा लुम्बिनीसँगको पुनर्मिलन (रिम्याच) पक्का गरेको हो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ४५ रन जोड्दा ४ विकेट गुमाएर दबाबमा परेको अवस्थामा थरिन्दु रत्नायकेले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जितसम्म डोऱ्याए। उनले ४२ बलमा ७ चौकासहित अविजित ५३ रनको म्याच विनिङ इनिङ्स खेले र अन्तिम ओभरमा विजयी चौकासमेत प्रहार गरे। उनले पाँचौँ विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरी (१५ रन) सँग ३१ रन र छैटौँ विकेटका लागि आरिफ शेख (१० रन) सँग २६ रनको महत्त्वपूर्ण साझेदारी गरे। त्यसअघि आक्रामक सुरुवात गरेका ओपनर विनोद भण्डारीले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडेका थिए भने इशान पाण्डेले १० रन बनाए। चितवनका बलर रन्जित कुमारले २ तथा कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि वान डाउनमा आएका डाविड मलानले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रनको उत्कृष्ट इनिङ्स खेले। मलानले सातौँ विकेटका लागि सलाउद्दिन खान (१८ रन) सँग ४० रनको साझेदारी गरेका थिए भने कमलसिंह ऐरीले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्क छुन नसक्दा चितवन ठुलो योगफल बनाउनबाट चुक्यो।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए भने ब्याटिङमा चम्किएका थरिन्दु रत्नायकेले २ विकेट हात पारे। यस्तै, हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको नाममा १–१ विकेट रह्यो।

प्रतिकृया दिनुहोस्