×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

जापान: सपनाको सुनौलो फ्रेमभित्र लुकेको सङ्घर्षको पहाड

जापान: सपनाको सुनौलो फ्रेमभित्र लुकेको सङ्घर्षको पहाड

अशेष पाण्डे । नेपालीहरुको वैदेशिक रोजगारीको यात्रा करिब २१० वर्ष अगाडि देखी नै सुरुवात भएको लिखित ईतिहास कौटिल्य अर्थशास्त्रमा पाईन्छ । सन् १९५१ मा नेपालमा प्रजातन्त्रको स्थापनापछि बैदेशिक आर्थिक सम्बन्धका आधारहरु मजबुत बन्दै गएका हुन् । जसको जग आज नेपालीहरु संसारका ७२ देशमा कुटनैतिक सम्बन्धमा आधारित रहेर श्रम गरिरहेका छन् ।

आज नेपालीहरुले वैदेशिक रोजगारीका लागि छान्ने उत्कृष्ट १० देशहरुको सूचीमा जापान पनि रहेको छ । नेपाल र जापान बीच सन् १९५६ सेप्टेम्बर १ मा कुटनैतिक सम्बन्ध स्थापना भएपछि दुई देशका बीचमा आर्थिक सामाजिक, साँस्कृतिक सम्बन्धको बिस्तार हुन पुगेको हो । जसको निरन्तरताका कै रुपमा वर्तमान समयमा नेपाली युवाहरु रोजगारी र अध्ययनको लागि जापानमा रहेका छन् । अध्ययनका लागि नेपालीहरु पहिलो पटक सन् १९०२ मा ८ जनाको समुहमा पुगेको ईतिहास छ ।  

मानिस आम्दानी , रोजगारी वा अध्ययनका लागि जब आफ्नो जन्मभूमि छोडेर परदेशतिर लाग्छ, त्यो केवल भौगोलिक सीमाना पार गरिरहेका यात्रा मात्रैमा सिमित हुँदैन । जहाँ उसले आफु र आफ्नो परिवारको सुन्दर भविष्यको अर्थ, सम्भावना र पहिचानलाई पुनःपरिभाषित गर्न खोजिरहेको हुन्छ । यही गहिरो आकांक्षाको प्रतिफल हो ,आज नेपाली युवाहरूमा देखिएको जापानप्रतिको मोह । यो मोह कुनै क्षणिक आकर्षण, फेसन वा भावनात्मक आवेग मात्र होइन; यो एउटा पुस्ताको सामूहिक असन्तोष, निराशा र विकल्पको खोजको परिणाम हो ।

आर्थिक उदारीकरणको सफल अभ्यास र देशको राजनैतिक दरिद्रताले पनि नेपालीहरुमा जापान मोह बढिरहेको हो । जहाँ आफ्नै देशमा भविष्य धुम्मिएको देखिन्छ, त्यहाँ परदेशमा सम्भावनाको उज्यालो खोजिन्छ । जापान आज नेपाली युवाका लागि यही उज्यालोको प्रतीक बनेको छ–अनुशासन, स्थिरता, प्रणाली र सुनिश्चित जीवनको प्रतीक तर यहीँ एउटा गम्भीर प्रश्न उभिन्छ–के जापान साँच्चै सुनौलो भविष्यको ढोका होकि यो पनि संघर्षको अर्को रूप मात्र हो ? जापान बाकीँ विश्वका लागि मानवता मानवियताका आधारभूत पक्षहरुलाई आफ्नो जीवनमा कसरी अनुशरण गर्न सकिन्छ भनेर सिकाउने खुला विश्वविद्यालय हो ।

जापान रहदा बस्दा सिपहरुको असल प्रयोगले आज नेपालमा सयौँ युवाहरु उद्यमी बन्न सफल बनेका छन् । यस अर्थमा जापान बसाइ नेपालीहरुको भविष्य बदल्ने समृद्धिको शुत्रधार पनि हो ।  प्रस्तुत निबन्ध कुनै कल्पनामा आभारित भई लेखिएको कथा नभई  जीनन्त अनुभवको सङ्गालो हो । ११ वर्षको जापान बसाइ, श्रम, आत्मसंघर्ष, आत्मनिर्भरता र सामाजिक आर्थिक व्यवस्थाको प्रत्यक्ष अनुभव तथा अवलोकनको निचोड हो । मैले जापानलाई केवल देखेको छैन मैले यसलाई भोगेको छु ।

भाषा नबुझ्दा मौन भएर सहनु परेको अपमान, संस्कृतिसँग ठोक्किँदा अनुभूत असहजता, कामको कठोरता, सामाजिक एक्लोपन, र त्यसैभित्र विस्तारै पलाएको आत्मनिर्भरता– यी सबै मेरा व्यक्तिगत अनुभव मात्र होइनन् यी हजारौँ नेपाली आप्रवासीहरूको साझा कथा हुन् जसको आवाज प्रायः मौन रहन्छ । नेपाल छोड्नु सधैं साहसको कथा हुँदैन; धेरै पटक त्यो बाध्यताको परिणाम  पनि हुन सक्छ ।जब श्रमको उचित मूल्य हुँदैन, जब योग्यता अवसरमा रूपान्तरण हुँदैन, जब भविष्य भाषणमा सीमित हुन्छ र व्यवहारमा अनिश्चित रहन्छ, तब मानिस देशप्रेमभन्दा माथि उठेर जीवनप्रेम रोज्न बाध्य हुन्छ। विदेश जाने युवाहरू देशद्रोही होइनन् , उनीहरू आशाविहीन नागरिक हुन्– जसले आफ्नो देशलाई माया त ङछ्र्न तर आफ्नै भविष्यलाई अझ बढी माया गर्न बाध्य हुन्छन ।नेपालको वर्तमान अवस्था हेर्दा, आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता र सामाजिक अन्योलले युवाको मनोबललाई क्रमशः कमजोर बनाइरहेको छ।

रोजगारी अवसर सीमित छन्, भए पनि योग्यता र श्रमअनुसारको पारिश्रमिक छैन। राजनीतिक परिवर्तनहरू प्रायः व्यक्तिमा केन्द्रित छन्, प्रणालीमा होइन। यही संरचनागत कमजोरीले युवाहरूलाई बाहिर धकेलिरहेको छ। जापानप्रतिको मोह वास्तवमा यही असन्तुलनको मौन प्रतिक्रिया हो व्यवस्था, स्पष्टता र परिणामको खोज हो ।  जापानमा मेरो पहिलो र सबैभन्दा ठूलो संघर्ष भाषा थियो। जापानी भाषा केवल शब्दहरूको संरचना होइन यो सोच्ने तरिका हो। त्यो सोचमा प्रवेश नगर्दासम्म मानिस यहाँ पूर्ण रूपमा देखिँदैन। अझ अंग्रेजी पनि पूर्ण रूपमा  दोस्रो पक्षले नबुझ्दा अवस्था झन दोहोरो रूपमा जटिल हुन्छ—न त जापानीमा आफ्ना भावना स्पष्ट व्यक्त गर्न सकिन्छ, न त अंग्रेजीमा आत्मविश्वासका साथ आफ्नो पीडा राखेर उनिहरुलाइ बुझाउन सकिन्छ ।

यस्तो अवस्थामा मानिस बोल्न चाहन्छ, तर शब्द भेट्दैन ऊ बुझ्छ, तर बुझाउन सक्दैन र जब बुझाउन सकिँदैन, आत्मसम्मान बिस्तारै चिरा चिरा हुन थाल्छ । जापानको समाज अनुशासनमा टिकेको छ। यहाँ समयपालन संस्कार हो, र काम केवल जीविकोपार्जनको साधन होइन– यो नै पहिचान हो। पाँच मिनेट ढिलो हुनु पनि गैर–जिम्मेवारीको संकेत मानिन्छ। सुरुमा यो कठोर लाग्छ तर बिस्तारै बुझिन्छ यही कठोरताभित्र सुचारु व्यवस्था लुकेको हुन्छ । यहाँ कोही तपाईंलाई सम्हालेर हिँडाउँदैन तपाईं आफैं उभिन सिक्नुपर्छ ।  यही आत्मनिर्भरता जापानको सबैभन्दा ठूलो पाठ हो ।

यद्यपि यही आत्मनिर्भरताभित्र एक्लोपनको खतरा पनि लुकेको हुन्छ। जापान अत्यन्तै व्यवस्थित छ तर भावनात्मक रूपमा संयमित समाज हो। यहाँ सबै व्यस्त छन् तर धेरैजसो एक्ला पनि छन्। नेपाली समाज सामूहिक छ हामी दुःख, सुख, चिया, हाँसो सबै सँगै बाँड्न खोज्छौँ ।  यही भिन्नताले धेरै नेपाली युवाहरूलाई मानसिक रूपमा थकित बनाउँछ । नेपालीहरुको सामाजिक मनोविज्ञान नै अरुलाई देखाउनका लागि केही न केही नयाँ गर्न खोज्ने प्रवृति छ । जसलाई उचित तवरबाट जापानीहरुलाई बुझाउन नसक्दा भने केही समस्याहरुको सामाना गरेको पाईन्छ ।  नेपाल र जापान  केबल दुइ देश मात्र यी दुई फरक दर्शनबाट सञ्चालिन स्वतन्त्र सार्वभौम देश पनी हुन् ।

नेपाल भावनामा धनी छ, तर  भौतिक र मानसिक  क्षमता प्रर्दशनमा कमजोर छ । जापान भौतिक संरचना र मानसिक क्षमतामा बलियो  रहनुका साथै भावनात्मक रूपमा संयमित छ । नेपालमा सम्बन्ध प्राथमिकता हो जापानमा  कानुनी प्रणाली अभ्यास प्राथमिकता छ  । यी भिन्नताले नै नेपाली युवालाई जापान आकर्षित गर्छ–यहाँ भविष्य स्पष्ट देखिन्छ यदि तपाईंले परिश्रम गर्न सक्नुभयो भने । तर समाधान बाहिर मात्र छ भन्ने निष्कर्ष गलत हुन्छ । यहीँबाट  समुदायको भूमिका सुरु हुन्छ ।

हामी केवल रेमिट्यान्स पठाउने प्रवासी होइनौँ; हामी अनुभव बोकेका नागरिक हौँ । जापानले हामीलाई अनुशासन, समयपालन, पारदर्शिता, उत्तरदायित्व र श्रमप्रतिको सम्मान सिकाएको छ यी सबै मूल्यहरू नेपालले चाहिरहेको छ। यदि हामी यी मूल्यहरूलाई केवल व्यक्तिगत सफलतामा सीमित राख्यौँ भने अवसर खेर जान्छ तर यदि हामीले यसलाई सामूहिक चेतनामा रूपान्तरण गर्न सक्यौँ भने यही मोह परिवर्तनको आधार बन्छ ।

जापानमा बितेका वर्षहरूले मलाई केवल काम गर्न मात्र होइन, सोच्न पनि सिकाए , आफ्नो देश, आफ्नो समाज, र आफ्नै अस्तित्व बारे यहाँको जीवनले मानिसलाई निरन्तर प्रश्न सोधिरहन्छ तिमी केका लागि बाँचिरहेका छौ? तिमीले पाएको अवसर केवल तिम्रा लागि हो कि समाजका लागि पनि ? यही प्रश्नहरूले मेरो सोचलाई क्रमशः आत्मकेन्द्रितबाट समाजकेन्द्रित बनाउँदै लगे मैले जापानलाई स्वर्ग जस्तो पनि देखें, र जेल जस्तो पनि। स्वर्ग जब अनुशासनले जीवनलाई सहज बनाउँछ ।

 जेल जब एक्लोपनले आत्मालाई थिच्छ । यही द्वन्द्व नै आप्रवासी जीवनको यथार्थ हो। यहाँ सुविधा छ, तर अपनत्व छैन। यहाँ अवसर छ, तर अँगालो छैन । यही कारणले धेरै नेपालीहरू शारीरिक रूपमा जापानमा भए पनि भावनात्मक रूपमा नेपालमै बस्छन् । अन्ततः, प्रश्न जापानको होइन–प्रश्न हाम्रो दृष्टिकोणको हो । यदि हामी जापानलाई केवल पैसा कमाउने ठाउँ ठान्यौँ भने यो थकान बन्छ । यदि हामी जापानलाई सिकाइको विद्यालय ठान्यौँ भने यो शक्ति बन्छ ।

यदि हामीले यहाँको अनुभवलाई आफ्नै व्यक्तिगत उन्नतिमा मात्र सीमित राख्यौँ भने त्यो मोह स्वार्थमा रुपान्तरण भई व्यक्तीगत तथा व्यवसायीक जीवनमा क्षती पुग्नेछ । आज जापान नेपाली युवाहरुको वैदेशिक रोजगारी र प्राविधिक शिक्षाका लागि मोहको विषय बनिरहेको तथ्यलाई नेपालमा भाषा पढाउनका लागि खोलिएका प्रशिक्षण केन्द्रको सङ्ख्याले पनि प्रमाणित गरिरहेको छ । जापानमा रहन बस्नका लागि भाषाको दख्दल मात्रै रहेर यसका लागि सबैभन्दा पहिले नेपालबाट आउदा नै मनोवैज्ञानिक रुपमा तयार भई आउनु पर्दछ ।

काम प्रतिको लगाव र कडा मिजासिलो अनुशासनमा बस्न सकेमा जापान बसाईले सुनौलो भविष्यको मार्गहरु प्रशस्त गर्ने अनेकौँ सम्भावनाहरु जापानी अर्थतन्त्रमा रहेका छन् । समयमा पढ्दै कमाउदै गरेका केही नेपाली विद्यार्थीहरुका लागि  कानुनी रुपमा केही कडाई गरिएको छ । जुन नेपालीहरुका लागि तत्कालका लागि दुःखद मानिएता पनि दीर्घकालिन रुपमा यसले पनि नेपाली युवाहरुका लागि महत्वपूर्ण अवसहरु सिर्जना गर्नेछ । शान्ति र अहिंसा नेपाल र जापान दुवैको साझा विशेषता हो । जसका कारणले पनि जापानी रोजगारदाताका नजरमा नेपालीहरु पहिलो रोजाईमा परिरहेका छन् । यसलाई हामीले कायम राख्न सकेमा वर्तमान पुस्ताँका लागि मात्र नभई भावि पुस्ताँका लागि समेत सुनौलो भविष्य निमार्णको कार्यशाला बन्नेछ ।  

  लेखक करिब १२ बर्षदेखि जापानमा हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस्