काठमाडौं - इरान र अमेरिकी नौसेनाबीच गएराति होर्मुज जलमार्गमा भएको गोली हानाहानको चपेटामा परेर गुजरातको एउटा मालवाहक जहाज डुबेको छ ।
यो जहाज गुजरातको द्वारका जिल्लाको सलायाको रहेको बताइएको छ ।यस दुर्घटनामा जहाजको इन्जिन कोठामा कार्यरत भारतीय चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको छ भने बाँकी १७ जना सदस्यलाई सुरक्षित उद्धार गरिएको छ ।
इन्डियन सेलिङ भेसल्स एसोसिएसनका महासचिव आदम भाइले दुबईस्थित भारतीय दूतावासलाई इमेल पठाएर सहयोगको माग गरेका छन् ।
एसभी एएल फैज नूरे सुलेमानी–१ नामको मालवाहक जहाज दुबईबाट कार्गो लिएर यमनको मुकाला बन्दरगाहतर्फ जाँदै थियो । जहाजमा एक बन्दुकधारीसहित कुल १८ जना चालक दलका सदस्य सवार थिए ।
महासचिव आदमका अनुसार फायरिङपछि जहाजमा पानी भरिन थालेको थियो । उनका अनुसार मे ७ को बिहान करिब १ बजे जहाज होर्मुज जलमार्गबाट गुज्रिरहेको समयमा इरान र अमेरिकी नौसेनाबीच गोली हानाहान सुरु भएको थियो । उक्त क्रसफायरको चपेटामा उक्त जहाज पनि परेको थियो ।
गोलाबारीका कारण जहाजमा ठूलो क्षति पुगेको र त्यसमा पानी भरिन थालेपछि जहाज डुब्न थालेको बताइएको छ । यसै क्रममा इन्जिन कोठामा रहेका अल्ताफ तालब केर गम्भीर घाइते भएका थिए र उनको घटनास्थलमै मृत्यु भएको थियो ।
जहाज डुब्न थालेपछि चालक दलका सदस्यहरूले आफूलाई बचाउने प्रयास सुरु गरेका थिए । त्यही समयमा नजिकैबाट गुज्रिरहेको अर्को जहाज एमएसभी प्रेम सागर–१ ले सहयोग गरेको थियो ।
उक्त जहाजले १७ जना चालक दलका सदस्यहरूलाई सुरक्षित उद्धार गरेको बताइएको छ ।उद्धार गरिएका सबै सदस्यहरू मे ८ को साँझ सुरक्षित रूपमा दुबई पोर्ट पुगेका छन् ।