काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रभावकारी बनाउन दलका प्रमुख सचेतक र सचेतकहरूको प्रभावकारी भूमिका खोजेका छन् । सोमबार संसद्मा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूलाई बोलाएर सभामुख अर्यालले आपसी समन्वय, सहकार्य र संवाद गरेर सभा र समितिको कामलाई प्रभावकारी बनाउने भूमिका खेल्न अनुरोध गरेका हुन्
‘संसद्लाई मर्यादित व्यवस्थित बनाउन दलहरूको भूमिका सकारात्मक होस् । तपाईंहरूको योगदान होस्,’ अर्यालले भने । बैठकमा डिजिटल हाजिरीको विषय उठेको थियो । प्रतिपक्षी दलहरूले अधिवेशन कहिले बस्ने भनेर जिज्ञासा राखेका थिए । सभामुख अर्यालले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने जानकारी गराएका थिए ।
दलका सचेतकहरूले सभामुखले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने, सरकारसँग समन्वय गरेर जानुपर्ने, विधिभन्दा फरक तरिकाले काम नहुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । सरकारले संसद्मा उठेका कुरालाई सम्बोधन गराउन भूमिका सभामुखले खेल्ने अपेक्षा राखेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए ।