काठमाडौं - नेपालको सुदूर जाजरकोटको माटोबाट उठेका प्रेमबहादुर बुढाको जीवनयात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन। माओवादी द्वन्द्वको उत्कर्षका बेला सेनाले बुवा वीरबहादुर बुढालाई माओवादी ठानेर गोली हानी निर्मम हत्या गरेपछि ५ वर्षको कलिलो उमेरमै टुहुरा बनेका प्रेमको बाल्यकाल अनाथ र विडम्बनापूर्ण बन्न पुग्यो। आमाले अर्को विवाह गरेपछि मामाघरको आश्रयमा हुर्किएका उनले जीवनको कठोर यथार्थसँग सम्झौता गर्दै १६ वर्षको उमेरमा जाजरकोट खलंगा पुगेर नेपालगञ्ज-जाजरकोट चल्ने बसमा सहचालक (खलासी) को काम गर्न बाध्य भए।
बसको ढोकामा उभिएर यात्रु बोलाउने, गाडी सफा गर्ने र यात्रुका अपमान सहँदै जीवन बिताएका उनले सहचालकबाट चालक बन्ने अवसर पाएपछि आफ्नो जीवनको स्टेयरिङ पनि आफैँ घुमाउने अठोट गरे। गाउँका दाइ भीमबहादुर बुढाको प्रेरणाले गाडी चलाउन सिकेका उनले दिनभर स्टेयरिङ समातेर रातभर पुस्तकसँग मितेरी लगाए। एसएलसी, कक्षा १२, स्नातक हुँदै स्नातकोत्तरसम्मको कठिन अध्ययन यात्रा पूरा गरेका प्रेमले २०७३ देखि सरकारी कार्यालयको गाडी चलाउँदाको अनुभवबाटै लोकसेवाको सपना देख्न थाले।
अरूले "ड्राइभरले पनि नाम निकाल्छ र?" भन्दै खिल्ली उडाउँदा समेत विचलित नभएका उनले २०७८ मा चालकको निश्चित जागिर छाडेर पूर्ण रूपमा लोकसेवाको तयारीमा होमिए। बागमती प्रदेशबाट सहायक पाँचौँ तह हुँदै नायब सुब्बा र अन्ततः लोकसेवा आयोगको विज्ञापन (२०८२) मार्फत खुला, जनजाति र पिछडिएको क्षेत्र तीनै समूहबाट शाखा अधिकृतमा सिफारिस भएरै छाडे। हिजो बसको स्टेयरिङ समातेर यात्रु ओसार्ने प्रेमबहादुर बुढा आज देशको प्रशासनिक स्टेयरिङ समातेर नागरिकको सेवामा समर्पित भएका छन्। बुवालाई गुमाउनुको पीडा र जीवनभरका अपमानलाई शक्तिमा बदलेका उनको यो सङ्घर्षशील गाथा सिङ्गो देशका युवाहरूका लागि एक उच्च प्रेरणाको स्रोत बनेको छ।