काठमाडौं - नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजनको अन्त्यका लागि समाजवाद नै २१औँ शताब्दीको वास्तविक विकल्प भएको बताएका छन्। साइप्रस कम्युनिस्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले विश्वमा सम्पत्ति र प्रविधि बढे पनि त्यसको लाभ सीमित धनाढ्य वर्गमा मात्र केन्द्रित भएको टिप्पणी गरेका हुन्।
सम्बोधनका क्रममा ज्ञवालीले एक अर्ब मानिस चरम गरिबीमा रहनु र शिक्षा-स्वास्थ्य बजारको वस्तु बन्नु पुँजीवादका गम्भीर समस्या भएको उल्लेख गरे। उनले मार्क्सवादलाई बदलिँदो विश्व परिवेशअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै नेपालमा एमालेले जनताको बहुदलीय जनवाद (जबज) मार्फत राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई एकीकृत गरेको धारणा राखे। हिंसा नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा र सुदृढ संवैधानिक संस्थामार्फत नै सामाजिक रूपान्तरण सम्भव हुने बताउँदै उनले भूराजनीतिक प्रभुत्वको सट्टा सार्वभौम समानता र सहकार्यमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गरे।