काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मतका साथ विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापाले कुल खसेको मतको ९३.८८ प्रतिशत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको थियो।
कुल सदर मतमध्ये थापाले अत्यधिक मत प्राप्त गरेका छन्। उनले खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गर्दा बदर मत ०.७७ प्रतिशत रहेको छ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको पक्षमा सक्रिय रहँदै आएका थिए। उनीसहितका नेताहरूको पहलमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतिको नेतृत्वमा पुर्याएको थियो।
विशेष महाधिवेशनपछि कांग्रेसको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वबारे विभिन्न बहस भइरहेका बेला सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापाले भारी मतसहित विजय हासिल गरेका हुन्।
थापाको यो जितलाई कांग्रेसभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानले प्राप्त गरेको बलियो जनमतका रूपमा हेरिएको छ। अब उनको नेतृत्वमा पार्टीले संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक चुनौतीको सामना कसरी गर्छ भन्ने चासो बढेको छ।