मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बिहान करिब ६:१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीका अनुसार गाडीमा कुल १५ जना सवार रहेकामा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा खटिएको टोली, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने कार्य भइरहेको छ भने दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको सनाखतसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।