काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। कारागार कार्यालय डिल्लीबजारका अनुसार जिल्ला अदालत काठमाडौँको आदेशपछि रायमाझी बिहीबार बिहान थुनामुक्त भएका हुन्।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम ६५ वर्ष उमेर पुगेका कैदीबन्दीले पाउने कैद छुट सुविधा माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। उक्त ऐनअनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउने कानुनी व्यवस्था छ। सोही सुविधाअनुसार काठमाडौँ जिल्ला अदालतले कात्तिक २६ गते उनलाई कैद छुट दिँदै रिहा गर्न आदेश दिएको थियो।
गत असार ३० गते जिल्ला अदालत काठमाडौँले रायमाझीलाई ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत कसुरतर्फ अधिकतम चार वर्ष कैद सजाय सुनाएको थियो। २०८० वैशाख ३१ गतेदेखि थुनामा रहेका रायमाझी कैद छुट सुविधा पाएर साढे तीन वर्षमै रिहा भएका हुन्।