काठमाडौं- निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’ का मुख्य कलाकारहरु सार्वजनिक भइरहेका छन् । यही क्रममा चलचित्रमा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।
यस चलचित्रका लागि मुख्य नायिकामा दीपिका प्रसाईँ र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’ का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।
चलचित्र ‘एउटा साथी’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो चलचित्रपछि ‘लभ सब’ र ‘बाबु कान्छा’ मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि चलचित्रमा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’ बाट फिल्ममा कमब्याक गर्न लागेकी हुन् ।
यही चलचित्रमार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।
दिवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।