साउने संक्रान्ति पर्व सुरु भएसँगै महिलाहरुमा मेहन्दी र हरियो चुरा लगाउने चलन छ । साउन महिना सुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवतीले राम्रो वर प्राप्त होस् भनेर हरियो चुरा र मेहन्दी लगाउने प्रचलन छ । प्राचिन किंवदन्ती अनुसार मेहन्दी, हरियो चुरा र वर्त बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । विवाहित महिलाले यसरी चुरा मेहन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने र श्रीमानमा श्रीमतीको आकर्षण कायम रहने तर्कसमेत गरिन्छ ।
श्रीमतीले वर्त बस्दा स्वास्थ्य राम्रो हुनुका साथै श्रीमतीप्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ । पछिल्लो समय बजारमा पाइने केमीकल मेहन्दीले मानिसहरुको शरीरमा एलर्जीहरु देखिने विभिन्न समस्याहरु देखिने गरेका छन् । मेहन्दी दुई प्रकारका भएको लवना स्किन केयर एन्ड हेयर सेन्टरकी प्राध्यापक डा. सन्जिना भट्टराई बताउँछिन् । उनका अनुसार मेहन्दीको बोटको पातबाट बनाइएको मेहन्दी प्राकृतिक हो भने बजारमा पाइने कोन, कलर छापा जस्ता मेहन्दी केमिकलयुक्त हुन् । इन्द्रेणी टाइम्ससँगको कुराकानीमा उनले भनिन्, “परापूर्वकालदेखि नै मेहन्दी लगाउने हरियो चुरा लगाउने र साउन महिनाभरी हरिया चुरा ,पोतेले आफूलाई सजाउने भएकोले यसलाई सौन्दर्यको रुपमा पनि लिने गरिन्छ । बजारमा पाइने केमिकलयुक्त मेहन्दीमा रङ कडा बसाउनको लागि केमिकलको अत्यधिक प्रयोग गरिने प्रा.डा सविना भट्टराइले बताइन् ।
डा. भट्टराईका अनुसार केमिकलयुक्त मेहन्दीको प्रयोग गर्दा ‘एक्जिमा कन्ट्याक्ट डर्माटाइटिस’ र ‘इरिटेन्ट कन्ट्याक्ट इर्माटाइटिस्’ गरी दुई प्रकारको एलर्जी हुने सम्भावना हुन्छ । उनले भनिन, “यदि अधिल्लो बर्ष मेहन्दी लगाउँदा कुनै रियाक्सन देखिएको छ भने यो चाटी झनै हुन सक्छ । मेहन्दीकै कारण अन्य विभिन्न समस्याहरु समेत उत्पन्न हुने उनी बताउँछन् ।
हेना नामक महन्दीलाई अहिले धेरै नै केमिकल प्रयोग गरि बजारमा ल्याइएको छ । कपालमा प्रयोग गरिने पीपीडी नामक केमीकलले अहिले धेरै नै मिसावट गरिएको छ । उनले थपिन, “यसरी केमिकल मिसावट भएको मेहन्दी लगाउँदा हाल चिलाउने, रातो हुने, सुन्निने, पानी हातबाट पानी चुहिनेजस्ता अन्य असरहरु देखिन्छन् । यती मात्र होइन बाहिरी छालामा प्रयोग गरिएको प्रोडक्टहरुको कारणले भित्रि शरीर मुटु, किड्नी फोक्सोलगायत अरु संवेदनशील अंगहरुमा समेत असर गर्छ ।
यदि यस्तो केमिकल हाम्रो शरीरको रगतमा पुग्यो भने यसले तुरुन्तै अस्पताल पुर्याउनुपर्ने अवस्था समेत आउने डा. भट्टराईले बताएकी छन् । उनले भनिन्, “क्यान्सर जस्तो रोग पनि लाग्न सक्छ । हामी कतिपयले प्रोडक्टहरु चिन्न सक्दैनौँ र अहिलेसम्म कस्मेटिकको मापदण्ड र नियमन गर्ने निकाय पनि देखिँदैन । जसले गर्दा हाम्रो छाला ‘केमिलयुक्त प्रोडक्ट’हरुबाट असुरक्षित छन् । हामी छाला विशेषज्ञहरुले नियमनको लागि पहल गरिरहेका छौँ र कसरी यसलाई व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल गर्दैछौं ।”
हामीले यस्ता केमीकलयुक्त र शरीररलाई असर पुर्याउने प्रोडक्टहरुलाई कन्ट्रोल गर्नुपर्ने उनले बताइन् । उनले थपिन्, “मेहन्दी लगाउन हुन्न भन्ने होइन, लगाउनु पर्छ तर अर्गानिक कतिको छ भनेर बुझन पर्यो । अहिले धेरै जस्तो चाया , पोतो र डन्डिफोरहरु भएका मानिसहरु आफ्नो समस्या लिएर बजारमा जानु हुन्छ र केमिकलयुक्त प्रोडक्टहरु प्रयोग गर्नुहुन्छ । जसले नकरात्मक असर पुर्याइरहेको छ ।”
उनले चाया, पोतो, डन्डिफोरलगायतका छालासम्बधी रोगका लागि डाक्टरको नै परार्मश र उपचार चाहिने बताइन् ।
मेहन्दी लगाउने कुरा आफैँमा यसको छुटै विशेषता भएको तर अहिले समयसँगै हरेक कस्मेटिक सामानहरुमा मिसावट भएको हुनाले यसको जोखिम पनि उतिकै रहेको वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. अनुपमा कार्की बताउँछन् । पहिला-पहिला प्राकृतिक मेहन्दीको प्रयोग गर्ने गरे पनि पछिल्लो समय भने केमिकलयुक्त मेहन्दीको प्रयोग बढीरहेको उनको भनाइ छ ।
इन्द्रेणी टाइम्ससँगको कुराकानीमा उनले भनिन्, “मेहन्दी लगाउने कुरामा हाम्रो छुट्टै ‘कल्चर’ छ र यसको महत्व धेरै भएको हुनाले अघिकांश महिला दिदिबहिनीहरुले साउन महिनामा मेहन्दी लगाउनुहुन्छ । तर पछिल्लो समय मेहन्दीमा केमिकलहरुको मिसावट भएको कारणले गर्दा हाम्रो शरीरलाई धेरै असर परेको छ ।”
छालामा फोका उठने, पानी फोकाहरु आउने, एलर्जी हुने , चिलाउनेजस्ता विभिन्न समस्याहरु देखिने उनले बताएकी छन् । उनले थपिन्, “जुन हाम्रो शरीरको लागी राम्रो हुँदै होइन । कपालको लागि प्रयोग गरिने पीपीडी नामक केमिकल अहिले मेहन्दीमा पनि मिसावट गर्ने थालिएकोले यसले झनै नकरात्मक असर पार्छ ।”
कस्मेटिक मापदण्ड र नियमन गर्ने कुनै निकाय छ कि छैन भन्ने प्रश्नमा उनले भनिन्, “मुख्य कारण यही नै छ । अहिलेसम्म कुनै पनि नियमन गर्ने निकाय छैन, जसले गर्दा आम मानिसहरु गुणस्तरहीन प्रोडक्टहरुको प्रयोग गरिरहेका छन् र यसको नतिजा पनि भोगिरहेका छन् । कतिपय केमिकलयुक्त प्रोडक्टहरुले अनुहारलाई ‘ड्यामेज’ समेत बनाएको छ ।”
कुनै पनि प्रोडक्ट प्रयोग नै नगर्ने भन्दा पनि त्यसको कम्पनी र कतिको अर्गानिक छ भनेर बुझन जरुरी भएको उनले बताएकी छन् । उनले थपिन्, “मेहन्दी लगाउन पहिलाको जस्तो प्राकृतिक बोट भेटिँदैन । अहिले बजारमा सस्तो रुपमा पाइने मेहन्दी बढी मात्रामा केमिकलको प्रयोग हुने हुँदा मेहन्दीले छिटै रंग दिन्छ तर यसले मानिसको शरीरमा असर गर्छ । अहिलेको मेहन्दीहरु हेर्दा मचाहीँ नलगाउनको लागि नै आग्रह गर्छु ।”