×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब

अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि कांग्रेस नेताहरूको दबाब

काठमाडौं- बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवानिकट उपभापतिद्वोय पूर्णबहादुर खड्कादेखि धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, शेखर कोइराला, प्रदीप पौडेल, नैंन सिंह महरसम्मले सार्वजनिक रुपमा नै दबाब बढाएका हुन् । 

सीसीटीभीको रेकर्ड नै गायब ‘गरिएपछि’ अर्थमन्त्री शर्मा थप विवादमा तानिरहेको बेला कांग्रेस नेताहरूले सार्वजनिक रुपमा नै बर्खास्त गर्नुपर्नेसम्मका आवाज उठाउन थालेका हुन् । कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड गरेका छन् । ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खडकाले भनेका छन्, ‘विगतमा पनि संसदको यस्तो परम्परा छ, बरु ढिलो नगरौँ ।’

उता, उपसभापति धनराज गुरुङले छानबिन समिति गठन,  छानबिन समिति गठनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने तीनवटा मोडेल अघि सारेका छन् । ‘संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत निगरानी गरिन्छ,’ गुरुङले भनेका छन्, ‘सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ, जनताले हेर्न पाउनुपर्छ ।  विवाद समाधानका लागि छानबिन समिति गठन र छानबिन समितिलाई सहयोगका लागि अर्थमन्त्रीको राजीनामा वा बर्खास्त’ गर्नुपपर्छ ।’ 

महामन्त्री गगनकुमार थापाले विवादमा मुछिएका अर्थमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । ‘अर्थमन्त्री विवादमा मुछिनु भएको छ, उहाँले तत्काल राजीनामा दिनुपर्छ,’ थापाले यसअघि नै भनिसकेका छन् । उता, सभापतिका प्रत्याशी शेखर कोइराला र उनका समूहले पनि राज्यविरुद्ध गम्भीर अपराध गरेको भन्दै अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्तु गर्नुपर्ने धारणा राखिसकेका छन् । 

‘सार्वजनिक पदमा बसेको व्यक्ति विवादित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुन्छ । तर, राजीनामा नदिएर बसेका अर्थमन्त्री शर्मालाई प्रधामन्त्रीले तत्काल राजीनामा दिन लगाउनु पर्छ, नभए बर्खास्त गरेर छानबिन गर्नुपर्छ ।’ कोइराला समूहको गत बिहीबार बसेको बैठकमा बोल्ने अधिकांश नेताले अर्थमन्त्री शर्माले राजीनामा दिलाउन लगाएर प्रधानमन्त्री देउवाले छानबिन गराउनुपर्ने धारणा राखिसकेका छन् ।

यस्तै, केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् । नेता महरले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका हुन् ।

‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो । त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडी बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी जनतालाई दिनुपर्छ’, उनले भने, ‘एक अमुक पार्टी र व्यक्तिका लागि लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने काम स्वभनीय हुँदैन । संसदीय छानबिन समिति गठन गरेरले आवश्यक काम कारबाही अगाडी बढाइनु हितकर हुन्छ ।’

कांग्रेसका युवा नेता प्रदीप पौडेलले निरन्तर रुपमा चौतर्फी विरोध तानिएपछि अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । देशको अर्थ मन्त्रालय जस्तो महत्वपूर्ण निकायको काम कारबाहीमा प्रश्न उठेपछि सत्यतथ्य सार्वजनिक गर्नु मन्त्रालयकै प्रमुख जिम्मेवारी भन्दै उनले अर्थमन्त्रीलाई राजीनामा दिन सुझाएका हुन् । ‘निरन्तर रुपमा चौतर्फी विरोध उठीसकेपछि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ’, नेता पौडेलले भनेका छन् ।

प्रतिकृया दिनुहोस्