×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनपिएल: रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

एनपिएल: रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं - कप्तान रोहित कुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ। रोहितले ब्याटिङतर्फ ८० रन र बलिङतर्फ चार विकेट लिँदा मंगलबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो।

लगातार चार खेल हारेको लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित्तै राख्न चितवनविरुद्धको खेल जित्नै पर्ने दबाब थियो। यो खेल हारेको भए लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना समाप्त हुने समीकरण थियो। तर, १६८ रनको लक्ष्य पछ्याएको चितवनको निर्धारित २० ओभरमा आठ विकेट लिएर १३८ रनमै रोक्दै लुम्बिनीले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखाएको हो।


योसँगै लुम्बिनीले पाँच खेलमा पुगेर जितविहीन यात्रा टुंगाएको छ। लुम्बिनीले विराटनगर किङ्ससँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेटको हार बेहोरेको थियो। यस्तै, सुदूरपश्चिम रोयल्सलाई ४५ र जनकपुर बोल्ड्सलाई एक रनको नतिजा सुम्पियो। 

तीन खेल जितेको चितवनको भने यो प्रतियोगितामा दोस्रो हार हो। चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको थियो। तर, कर्णाली याक्सलाई ६ विकेटको नतिजा सुम्पियो। चौथो खेलमा सुदूरपश्चिमविरुद्ध ३३ रनको जित हासिल गर्दै चितवनले तालिकामा ६ अंक पुर्‍याएको थियो। यो जितले चितवनलाई जनकपुर र सुदूरपश्चिमलाई उछिन्दै शीर्षमा पुग्ने अवसर थियो। तर, चितवनले उक्त अवसर सदुपयोग गर्न सकेन।

चितवनका लुक बेनकेन्स्टाइनले सर्वाधिक ३१ रन बनाए। २९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान कुशल मल्लले २०, रवी बोपाराले १२ र सन्तोष कार्कीले १० रन लिँदा रिजन ढकाल १५ र नर सार्की २२ रनमा अविजित रहे। अन्यको ब्याटिङ चल्न सकेन। 

रोहितले चार ओभरमा चार विकेट लिन १७ रन खर्चिए। रोमन साइमन्डले दुई तथा साद बिन जाफर र अभिषेक गौतमले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो। पहिलो पावर प्ले मै (१.३ ओभरमा २–१) दुई विकेट लिँदै चितवनले लुम्बिनीलाई दबाबमा राखेपनि सोहेल तनवीरले दिएको जीवनदान महंगो बन्न पुग्यो।

१०औं ओभरको अन्तिम बलमा उनले सट फाइन लेगमा जाफरलाई पाँच रनमा जीवनदान दिएका थिए। कुशलको बललाई उनले स्वीप गरेका थिए। तर, तनवीरले सहज क्याच छाडे।

सोहीको फाइदा उठाउँदै जाफरले कप्तान रोहितसँग पाँचौं विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे। एनपिएलमा यो चौथो शतकीय साझेदारी हो। रोहितले सर्वाधिक ८० रन बनाए। ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे। एनपिएलमा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए। 

जाफर भने ५२ रनमा रन आउट भए। ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका हुन्। सन्दीप जोरा चार रनमा अविजित रहँदा आशुतोष धिरौया एक, अर्जुन साउद १५, टम मुर्स १० र उन्मुक्त चन्द शून्य रनमा पभिलियन फर्किए

चितवनका रिजन ढकालले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। कुशल मल्ल र रञ्जित कुमारको नाममा समान एक विकेट रह्यो।

प्रतिकृया दिनुहोस्