काठमाडौं - मध्यक्रमका ब्याटर आरिफ शेखको शानदार ७८ रनको पारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो जित हात पारेको छ। नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्यो।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। आरिफले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७८ रन बनाए, जुन उनको करियरकै उत्कृष्ट स्कोर हो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रनको योगदान दिए। कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन जोडे। गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे। यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाएका थिए।
नेपाल ६८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट आरिफले कप्तान रोहितसँग मिलेर ५५ रनको साझेदारी गरे। रोहित रनआउट भएपछि १२३ रनमा चौथो विकेट गुमेको अवस्थामा आरिफले दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। उनी जितको संघारमा आउट भए। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए भने भिभियन किङमा र पल भान मिकेरनले १-१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रन बनाउँदा अलआउट भयो। उसका लागि मध्यक्रमका ब्याट्सम्यान नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रनको योगदान दिए। विक्रमजित सिंहले ३८ तथा रोलफ भान डर मर्वेले २१ रन जोडे।
नेदरल्याण्ड्सले सुरुवाती १६ रनमै २ विकेट गुमाएको थियो। त्यसपछि सिंह र एडवार्ड्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। १६६ रनमा ७ विकेट गुमेको अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए।
नेपालका लागि बलिङमा सोमपाल कामीले ९.१ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट हात पारे।
नेपालले यसअघि सोमबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। यो जितसँगै नेपालले यस लिग २ साइकलमा पहिलो पटक लगातार दुई खेल जितेको हो।
अब नेपालले आगामी जुन ८ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।