काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन् ।
झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्माले विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शभकामना व्यक्त गरेका थिए । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले महामन्त्री थापा पटकपटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताए ।
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए । शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रस्तावक बनेर भए पनि अगाडि बढाउने उनको भनाइ ।
शर्मा झापाबाट काठमाडौं उत्रिनासाथ महामन्त्री थापा निवास रातोपुल पुगेर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । महामन्त्री थापाले पनि शर्मालाई बधाई तथा शुभकामना दिएका थिए। थापाका बुबाआमाले पनि शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।