नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई चार दिनको घामछाया मात्र भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरेलगत्तै शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले ती पद सर्वोच्च अदालतबाट फैसला नआउन्जेलका लागि मात्रै भएको दाबी गरेका हुन् ।
‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा कलेजोमा छ क्यान्सर, बूढी औंलामा सिवाजल गोली,’ कांग्रेस प्रवक्ता शर्माले लेखेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु । ‘फैसला’सम्मलाई दुई चारदिनको घामछाया ।’
प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्ने माग गर्दै देउवासमेत १४६ सांसदले सर्वोच्च अदादलतमा हालेको मुद्दामा बहस जारी छ । साथै संसद् विघटनविरुद्ध अन्यले दर्ता गराएका २५ रिट पनि विचाराधीन छन् ।