जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त हुने धारणा राखेका छन् ।
संवैधानिक राष्ट्रपतिहरूको भूमिका कमजोर भइसकेको भन्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त देखिएको बताएका हुन् ।
‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका / स्तर निकै कमजोर / निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु श्रेयस्कर देखियो,’ मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अपनाउन नसके प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्र प्रमुख बनाउने विकल्प उनले अघि सारेका छन् ।
‘त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि?,’ उनले भनेका छन् ।