अशेष पाण्डे । नेपाली शेयर बजार औपचारिक वित्तीय प्रणालीको महत्वपूर्ण अङ्ग भए पनि यसले राष्ट्रिय आर्थिक विकासमा अपेक्षित योगदान दिन सकेको देखिँदैन। बर्तमान अवस्थामा केही आधारभूत आर्थिक सूचकहरू सुधारोन्मुख भए तापनि पूँजी बजारमा दीर्घकालीन लगानी प्रवाह कमजोर छ। यस लेखमा नेपाली शेयर बजारको संरचनागत अवस्था, लगानी संस्कृतिको स्तर,नियमन तथा अनुगमन प्रणाली, नीतिगत अवरोध र संस्थागत कमजोरीहरूको विश्लेषण गरिएको छ। साथै, पूँजी बजारलाई आर्थिक मेरुदण्डका रूपमा विकास गर्न आवश्यक सुधारात्मक उपायहरू र दीर्घकालीन सम्भावनाहरूको समीक्षा प्रस्तुत गरिएको छ। अध्ययनले निष्कर्ष निकाल्दछ कि स्पष्ट नीतिगत दृष्टिकोण, संस्थागत सुधार र वित्तीय साक्षरता विस्तार बिना नेपाली शेयर बजारको दिगो विकास सम्भव छैन।
१. परिचय (Introduction)
पूँजी बजार आधुनिक अर्थतन्त्रको आधारभूत स्तम्भ हो। यसले साना–साना घरेलु बचतलाई एकीकृत गर्दै उत्पादनमूलक क्षेत्रमा पूँजी प्रवाह गराउँछ, जसले औद्योगिकीकरण, पूर्वाधार विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउँछ। अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ कि स्थिर र पारदर्शी शेयर बजार भएका देशहरूले दीर्घकालीन आर्थिक वृद्धि हासिल गरेका छन्।
नेपालमा शेयर बजारको औपचारिक विकास भए तापनि यसले अझै राष्ट्रिय विकास प्रक्रियामा केन्द्रीय भूमिका निर्वाह गर्न सकेको छैन। यस सन्दर्भमा, नेपाली शेयर बजारको संरचनागत अवस्था र नीतिगत दिशाको समीक्षा गर्नु अत्यन्त सान्दर्भिक छ।
२. अध्ययनको उद्देश्य (Objectives of the Study)
यस लेखका मुख्य उद्देश्यहरू निम्न रहेका छन्:
• नेपाली शेयर बजारको बर्तमान अवस्था र संरचनागत कमजोरीहरूको विश्लेषण गर्नु
• लगानी संस्कृतिको अवस्था र वित्तीय साक्षरताको प्रभाव मूल्यांकन गर्नु
• नियमन तथा अनुगमन प्रणालीका सीमितताहरू पहिचान गर्नु
• पूँजी बजारको दीर्घकालीन सम्भावना र सुधारात्मक उपायहरू प्रस्ताव गर्नु
३. बर्तमान आर्थिक पृष्ठभूमि र शेयर बजार (Current Economic Context and Stock Market)
हाल नेपाल पूर्ण आर्थिक संकटमा रहेको अवस्था छैन। बैंकिङ प्रणालीमा तरलता अवस्था क्रमशः सुधार हुँदै गएको छ, ब्याजदर घट्दो क्रममा छ, रेमिट्यान्स प्रवाह स्थिर छ र पर्यटन क्षेत्र पुनरुत्थानको चरणमा छ। यस्ता सूचकहरूले पूँजी बजारका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने हो।
तर शेयर बजारको प्रदर्शन ती आर्थिक सूचकहरूसँग समानान्तर रूपमा अघि बढ्न सकेको छैन। यसको प्रमुख कारण राजनैतिक अस्थिरता, नीतिगत अनिश्चितता र दीर्घकालीन पूँजी बजार रणनीतिको अभाव हो। बारम्बार हुने सरकार परिवर्तन र अल्पकालीन नीतिगत निर्णयहरूले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ।
४. लगानी संस्कृति र वित्तीय साक्षरता (Investment Culture and Financial Literacy)
नेपाली शेयर बजारमा लगानी संस्कृतिको विकास अझै प्रारम्भिक चरणमै छ। ठूलो संख्यामा लगानीकर्ताहरू कम्पनीको वित्तीय विवरण, कर्पोरेट सुशासन, नाफा क्षमताको स्थायित्व र क्षेत्रगत सम्भावनाको विश्लेषण नगरी छोटो अवधिको मूल्य उतार–चढाव र अफवाहमा आधारित निर्णय गर्छन्। यसले बजारमा अस्वाभाविक अस्थिरता सिर्जना गर्नुका साथै दीर्घकालीन पूँजी निर्माण प्रक्रियालाई कमजोर बनाएको छ। वित्तीय साक्षरताको अभावका कारण शेयर बजारलाई दीर्घकालीन लगानीको माध्यमभन्दा बढी सट्टेबाजीको क्षेत्रका रूपमा बुझिने अवस्था देखिन्छ।
५. नियमन, अनुगमन र संस्थागत संरचना (Regulation, Supervision and Institutional Framework)
स्वस्थ पूँजी बजारका लागि सशक्त नियमन र प्रभावकारी अनुगमन अपरिहार्य हुन्छ। तर नेपाली सन्दर्भमा नियमन प्रणाली अझै अपेक्षित रूपमा प्रभावकारी देखिँदैन। प्रखर र समयानुकूल शेयर कानुनको अभाव, नियामक निकायहरूमा हुने राजनैतिक नियुक्ती र पेशागत स्वतन्त्रताको सीमितताले बजारको विश्वसनीयता कमजोर बनाएको छ।
विशेष गरी, वित्तीय रूपमा सुदृढ र पारदर्शी संस्थाहरूलाई बजारमा आकर्षित गर्न नसक्नु तथा कमजोर आर्थिक आधार भएका संस्थाहरूलाई सहज रूपमा IPO मार्फत प्रवेश दिनु बजारको गुणस्तर र लगानीकर्ताको सुरक्षाका लागि चुनौतीपूर्ण बनेको छ।
६. सामाजिक बुझाइ र नीति निर्माण प्रक्रिया (Public Perception and Policy Process)
नेपाली समाजमा शेयर बजारप्रतिको धारणा अझै पनि उच्च जोखिम र अल्पकालीन नाफासँग जोडिएको देखिन्छ। यसले दीर्घकालीन लगानी संस्कृतिको विकासमा अवरोध पुर्याएको छ। साथै, नीति निर्माण प्रक्रियामा विज्ञ, अनुसन्धानकर्ता र पेशागत समूहहरूको सुझावलाई या त समेट्न नसक्नु वा व्यवहारमा कार्यान्वयन नगर्नु सुधार प्रयासहरूको प्रभावकारिता घटाउने प्रमुख कारण बनेको छ ।
७. सम्भावना र बलिया पक्षहरू (Prospects and Structural Strengths)
उपरोक्त चुनौतीका बाबजुद पनि नेपाली शेयर बजारका दीर्घकालीन सम्भावना उल्लेखनीय छन्। बैंकिङ, बीमा, जलविद्युत्, लघुवित्त, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगहरू भविष्यमा आर्थिक वृद्धिका मुख्य चालक बन्न सक्ने क्षमता राख्छन्। बढ्दो ऊर्जा माग, जलविद्युत् निर्यातको सम्भावना, युवा जनसंख्या संरचना र डिजिटल वित्तीय सेवाको विस्तारले पूँजी बजारको भविष्यलाई सकारात्मक बनाउने आधार तयार गर्दैछ।
८. नीतिगत सिफारिसहरू (Policy Recommendations)
नेपाली शेयर बजारलाई प्रभावकारी आर्थिक मेरुदण्डका रूपमा विकास गर्न निम्न सुधारहरू आवश्यक देखिन्छ:
• राजनैतिक हस्तक्षेपबाट मुक्त, स्वतन्त्र र पेशागत नियामक संरचना
• IPO प्रक्रियामा कडा वित्तीय तथा सुशासन मापदण्ड
• उत्पादनमूलक र वित्तीय रूपमा सुदृढ संस्थालाई सूचीकृत हुन प्रोत्साहन
• वित्तीय तथा पूँजी बजार शिक्षाको संस्थागत विस्तार
• नीति निर्माण र कार्यान्वयनमा विज्ञ सिफारिसहरूको प्रभावकारी समावेश
• दीर्घकालीन लगानीमैत्री कर तथा पूँजी बजार नीति
९. निष्कर्ष (Conclusion)
नेपाली शेयर बजार दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्ड बन्ने क्षमता राख्छ। साना–साना घरेलु पूँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै रोजगारी सिर्जना र आर्थिक स्थायित्व हासिल गर्न पूँजी बजारको भूमिका निर्णायक हुन सक्छ। तर यसका लागि संस्थागत सुधार, नीतिगत स्पष्टता र वित्तीय साक्षरताको विस्तार अपरिहार्य छ। अन्ततः, शेयर बजार न त शीघ्र सम्पत्ति आर्जनको माध्यम हो, न त पूर्ण रूपमा जोखिमयुक्त क्षेत्र मात्र। विश्लेषण, अनुशासन र जोखिम चेतनासहितको दीर्घकालीन लगानी रणनीतिले मात्र व्यक्तिगत तथा राष्ट्रिय आर्थिक सुदृढीकरण सम्भव बनाउँछ।
अन्त्यमा, सन् २०२६ मा विकासशील राष्ट्र बन्ने प्रतिबद्धता व्यक्त गरिसकेको नेपालजस्तो अल्पविकसित मुलुकका लागि गाउँ–गाउँमा छरिएर रहेको पुँजीलाई पुँजीबजार मार्फत सङ्कलन गरी दीर्घकालीन राष्ट्रिय पुँजी निर्माण गर्न सेयर बजारको भूमिका अत्यन्त महत्वपूर्ण छ, जसलाई कदापि नजर अन्दाज गर्न हुँदैन।