काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन्। मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन्।
उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन्। उनलाई सञ्चारकर्मीले ‘पद छाड्न परेर कि काम गर्न बाँकी भएर भावुक भएको?’ भन्दै प्रश्न गरे। उनले त्यसक्रममा भावुकभन्दा पनि रिस उठ्ने प्रश्न सोध्न आग्रह गरिन्। उनले आफू इमोसनल भएको भन्दै प्रश्नको फेस गर्न नसकेको बताइन्।
उनले अगाडि भनिन्, ‘मेरो बानी कसैलाई बिदा गर्न आर्यघाट गएँ भने पनि त्यो दिनभर डिस्टर्ब हुन्छु, त्यो दिनभर घर फर्किन्नँ।’ आँसु खस्न थालेपछि पनि उनले केही भनिनन्। ‘आगामी दिनमा पनि काम गर्दै जाउँला। खासै बोल्नुपर्ने कुरा केही छैन।’ उनले सञ्चारकर्मीको प्रश्न लिए पनि असहज भएको भन्दै जवाफ भने दिइनन्।
बिदाई कार्यक्रममा भावुक बन्दै झाँक्रीले पार्टीबाट निर्णय गरेर मन्त्री भएको तर पार्टीमा केही समयपछि साथीहरुले दिन गन्ती गर्न थाल्नलेको गुनासो पोखिन्। मन्त्री हेरफेरको विषय मिडियाबाट थाहा पाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरिन्।