काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै पनि किसिमको संलग्नता नरहेको गृह मन्त्रालयले शनिबार स्पष्ट पारेको छ।
मन्त्रालयले भिजिट भिसा प्रकरणमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्रालय तथा मन्त्रीको संलग्नता रहेको भनी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता समाचारहरूलाई तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भनेको छ। विज्ञप्तिमा मन्त्रालयको नेतृत्व, अर्थात् गृहमन्त्री लेखकको, उक्त प्रकरणमा कुनै संलग्नता नरहेको किटानीका साथ स्पष्ट पारिएको छ। साथै, मन्त्रालयले सञ्चारमाध्यमहरूलाई सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न आग्रह गरेको छ।
"शान्ति, सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ," विज्ञप्तिमा भनिएको छ, "मन्त्रालयले सबै प्रकारका अनियमितता तथा आपराधिक घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ।"
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनाको अनुसन्धान गम्भीरतापूर्वक भइरहेको र सत्यतथ्य बाहिर आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ।