चितवन- लामो समयदेखि लागत मूल्यभन्दा कममा अण्डा बेच्न बाध्य किसानहरूले मूल्य बढेसँगै केही राहत महसुस गरेका छन्। अत्यधिक गर्मीका कारण उत्पादनमा कमी आउँदा र माग बढ्दा अण्डाको मूल्य वृद्धि भएको हो।
नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्ने गर्दछ। सङ्घले आज (शनिबार) देखि लागू हुने गरी एक्सएल (XL) अण्डा प्रतिक्रेट (३० वटा) को फार्म मूल्य ४८० रुपैयाँ तोकेको छ। त्यसैगरी, ठूलो (लार्ज) अण्डाको मूल्य ४६५ रुपैयाँ र मझौला (मिडियम) अण्डाको ४३५ रुपैयाँ निर्धारण गरिएको छ।
यो मूल्यवृद्धि अघिल्लो मूल्यभन्दा प्रतिक्रेटमा १५ रुपैयाँले बढी हो। यस हिसाबले किसानले प्रतिगोटा अण्डाको करिब १५ रुपैयाँ ५ पैसा पाउनेछन्। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, किसानको प्रतिगोटा अण्डा उत्पादन लागत १६ रुपैयाँ ५६ पैसा छ। उहाँले भन्नुभयो, “मूल्य बढे पनि किसानले अझै लागत मूल्य पाउन सकेका छैनन्। यद्यपि, केही हदसम्म मूल्य बढ्दा उनीहरूले राहत महसुस गरेका छन्।”
अध्यक्ष पोखरेलले अत्यधिक गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म गिरावट आएको जानकारी दिनुभयो। उहाँका अनुसार, गर्मी मौसममा कुखुराले दाना कम खाने, उत्पादन घटाउने र विभिन्न रोगको समेत प्रकोप देखिने गर्दछ।
करिब पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा हाल यो घटेर २५ हजार कार्टुनको हाराहारीमा पुगेको छ। गर्मी, दानाको मूल्यवृद्धि र अण्डाको उचित मूल्य नपाउँदा धेरै किसानले कुखुरा बेचेको र नयाँ चल्लासमेत राख्न नसकेको पोखरेलको भनाइ छ।
बजारमा अण्डा दिने कुखुराको संख्या घट्दै गएको र माग बढिरहेकाले मूल्य अझै बढ्न सक्ने अनुमान छ। नेपालमा अण्डा उत्पादनमा संलग्न करिब ७५ प्रतिशत किसानहरू व्यवसायबाट विस्थापित भइसकेको उहाँले बताउनुभयो। यद्यपि, केही ठूला फार्महरूले हालको माग धानिरहेको पोखरेलको भनाइ छ।