×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालद्वारा बेलकोटगढीको मेयरमा उम्मेदवारी दिने घोषणा

नेपालद्वारा बेलकोटगढीको मेयरमा उम्मेदवारी दिने घोषणा

नुवाकोट । नेपाली कांग्रेसका नेता एसके (सानुकान्छा) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालले यही वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा बेलकोटगढीको विकासका लागि गर्ने कामका योजनासहित कांग्रेस पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

ऐतिहासिक महत्त्वको बेलकोटगढीलाई स्थानीय पर्यटन, कृषिको आधुनिकीकरण, स्थानीय सरकारबाट किसानलाई सहुलियत तथा कृषिमा आधारित उद्योगको स्थापना, नगरका सम्पदाको संरक्षण एवं संवर्द्धन र स्थानीय तहमा धेरै भन्दा धेरै रोजगारीका अवसर सिर्जना गर्ने योजनासहित मेयरमा उम्मेदवारी दिन लागेको नेपालले बताए ।

नयाँ संविधानले स्थानीय तहहरूलाई सिंहदरबारजत्तिकै शक्तिशाली बनाएको तर विगत एक कार्यकालका स्थानीय तहका काम हेर्दा त्यस्तो आभास हुन नसकेको नेपालको भनाइ छ । ‘जनताका मागको सम्बोधन भएका ठाउँमा पनि सुशासन छैन, कतिपय ठाउँमा आर्थिक अनियमितता देखिएका छन्,’ उनले भने, ‘पार्टी र जनताले नगरपालिकाको नेतृत्व गर्ने अवसर दियो भने स्थानीय सरकारले सुशासन कसरी कायम गर्नुपर्छ भन्ने प्रत्याभूत गराउन सक्छौँ ।’

स्थानीय तहका यसअघिका जनप्रतिनिधिको कार्यकालबाट नागरिकका माग र मुद्दाको सुनुवाइ कसरी गर्न सकिन्छ भन्ने कुरा आफूले नजिकबाट नियालेको र आफू निर्वाचित भए नागरिकको हक र हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । स्थानीय तहका जनप्रतिनिधिले जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने र घरघरमा नै राज्यले उपलब्ध गराउने सेवा पुर्‍याउनुपर्ने नेपालको भनाइ छ । ‘हाम्रोमा सामाजिक सुरक्षा कमजोर छ । यस क्षेत्रमा धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘ज्येष्ठ आमाबुबाले २० किलोमिटर टाढाको बैंकमा बृद्धभत्ता बुझ्न जानुपर्ने अवस्था छ । साँच्चै सामाजिक सुरक्षाको प्रत्याभूति गराउने हो भने त बाआमाहरूको हातहातमा पैसा दिनुपर्छ । हामी त्यो कामको सुरुवात गर्नेछौँ ।’

ज्येष्ठ नागरिकलाई राज्यले उपलब्ध गराउने वृद्धभत्ता जस्ता सामाजिक सुरक्षा सुविधा घरघरमै पुर्‍याउन बेलकोटगढी नगरपालिकामा संस्थागत थालनी गर्ने योजना रहेको उनले सुनाए । त्यस्तै, बेलकोटगढीमा भौतिक पूर्वाधार विकासको खाँचो रहेको र त्यसका लागि आवश्यकताअनुसार आधुनिक पूर्वाधार विकास गरिने नेपालले बताए । ‘हाम्रो नगरपालिकामा पूर्वाधार विकासको पक्षमा जोड दिनुपर्ने आवश्यकता टड्कारो छ । हामी जहाँ छौँ त्यो अवस्था हेरेर हामीले भौतिक पूर्वाधारका कामलाई तीव्रताका साथ अगाडि बढाउनेछौँ,’ उनले भने ।

झन्डै ३४ वर्ष शिक्षक र २० वर्ष प्रधानाध्यापक भएर प्रशासनिक नेतृत्वमा रहेका नेपालले त्यो अनुभवको सदुपयोग मेयरका रूपमा बेलकोटगढीमा गर्न चाहेको बताए । बेलकोटगढी नगरपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउनु आफ्नो अर्को प्राथमिकता रहेको उनले बताए । हामीले अपेक्षा गरेका कुरा ती विद्यालयको शैक्षिक गुणस्तर उकासेर पनि पूर्ति गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास छ ।

‘स्थानीय स्तरमा रोजगारीका अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्नेमा हाम्रो खास ध्यान जानेछ । त्यसका लागि भरमग्दुर प्रयास गर्नेछौँ । यसकालागि कृषिको आधुनिकीकरणका साथै किसानलाई स्थानीय तहबाट राहत दिने, स्थानीय पर्यटनको प्रवर्धनमा लाग्ने, रोजगारीका लागि विदेश पलायन हुने युवाहरूलाई कृषिमा लगाएर कृषि सहकारीमार्फत रोजगारी दिने हाम्रा योजना छन् । अहिले चलिरहेका कृषि सहकारी भन्दा पृथक् खालको कृषि सहकारी जरुरी छ । जसले किसानलाई बिउ विजन उपलब्ध गराओस् । किसानको उत्पादन खरिद गरोस् । किसानको जीवनमा प्रत्यक्ष लाभ दिने खालको काम यसरी गर्न सकिन्छ,’ उनले भने । बेलकोटगढीमा उत्पादन हुने कृषि सामग्री र दुग्ध पदार्थका लागि नजिकै काठमाडौँजस्तो ठूलो बजार रहेकाले समस्या नहुने नेपालको भनाइ छ ।

नेपाल २०४२ सालमा पञ्चायतविरुद्ध कांग्रेसले गरेको सत्याग्रहसँगै कांग्रेसमा संगठित रूपमा लागेको बताउँछन् । सत्याग्रहमा सहभागी हुँदा त्यसबेला विद्यार्थीको पोसाकमै पक्राउ गरेको र २०४६ सालको जनआन्दोलनका ४९ दिन नै उनी सडकमा उत्रँदा पटकपटक पक्राउ परेको उनले बताए । काठमाडौँको पिपुल्स क्याम्पसमा नेविसंघ स्थापना गर्नेमध्येका एक रहेका उनी २०४५ सालमा शिक्षण पेसामा आबद्ध भएका हुन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि बेलकोटगढी नगरपालिकाको मेयरमा कांग्रेसका दाबेदार थिए । उनको नाम बागमती प्रदेश सभा सांसदका लागि पनि सिफारिस भएको थियो । नेपालसमेतको अगुवाइमा २०४८ सालमा ‘नुवाकोट प्रजातान्त्रिक विचार समाज’को स्थापना भएको थियो । उनी समाजका संस्थापक उपाध्यक्ष हुन् । नेपाली कांग्रेसको आठौँ महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी भएका उनी कांग्रेसको दसौँ, एघारौँ र बाह्रौँ महाधिवेशनमा नुवाकोट क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि थिए ।

प्रतिकृया दिनुहोस्