काठमाडौँ - बिमा समितिको पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन्। मंगलबार बिमा समितिले बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई यससम्बन्धी निर्देशन दिएको हो।
बिमा कम्पनीहरूमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त निर्देशन दिइएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए। ‘हकप्रद सेयरले कम्पनीको पुँजीगत संरचना नै परिवर्तन हुन्छ,’ उनले भने, ‘त्यसको जानकारी नियामक निकायलाई हुनुपर्छ। सोही कारण कम्पनीलाई निर्देशन जारी गरिएको हो।’
यसअघि यस्तो व्यवस्था थिएन। बिमा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय र साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था थियो।
नयाँ व्यवस्थाअनुसार अब बिमा कम्पनीले हकप्रद सेयर निष्कासनसम्बन्धी विषय सञ्चालक समितिबाट निर्णय भएर साधारणसभामा लैजानुअघि बिमा समितिबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ। समितिबाट अनुमति पाएपछि मात्र कम्पनीले उक्त प्रस्ताव साधारणसभामा पेस गर्नुपर्नेछ।
आफ्नो कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गर्नुअघि बिमा समितिबाट अनुमति लिए, नलिएकोबारे सोधखोज गर्न पनि धितोपत्र बोर्डलाई भनिएको छ। समितिले सोमबार पत्र लेखेर बोर्डलाई उक्त आग्रह गरेको हो।
गत साता अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनको सूचना सार्वजनिक भएको अघिल्लो दिन बजारमा ठूलो कारोबार भएको थियो। भित्री सूचना चुहाएर कारोबार भएको भन्दै व्यापक जनगुनासो आएको छ। सोही कारण अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समिति सबैले सो कारोबार सम्बन्धमा चासो दिएका छन्।
अर्थ मन्त्रालयले उक्त कारोबारबारे अध्ययन गरी अविलम्ब जानकारी दिन धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। सोही निर्देशनबमोजिम धितोपत्र बोर्डले सोमबार नै एक अध्ययन समिति गठन गरेको छ।
यही कारण अजोड इन्स्योरेन्सले घोषणा गरेको ५० प्रतिशत हकप्रद सेयर निष्कासनमा समस्या पर्ने देखिएको छ। कम्पनीले नियामक निकायलाई जानकारी नै नदिएर हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै बिमा समितिले सोमबार नै कम्पनीलाई पत्र काटेको हो।