अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धानको निर्णय गरेपछि चीनले आपत्ति जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो वा होइन भन्नेबारे ९० दिनभित्र थप अनुसन्धान गर्न चुप्तचर निकायलाई निर्देशन दिएका थिए।
तर, चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।
कोरोना र चीनको वुहान सहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि चीनले दोहोर्याएको छ। कोरोना सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो।
चिनियाँ अधिकारीहरूले प्रारम्भिक संक्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।
विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले सन् २०२१ मा स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो।
तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणहरूमा उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन्। विश्वभरि १६ करोड ८० लाखमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।