काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा आठ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् ।
शनिबार भएको अक्सनमा आठ जना खेलाडी चार-चार लाख रुपैयाँमा बिक्री भएका हुन् ।
मणिकुमार लामा, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष् गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की ४-४ लाखमा बिक्री भएका हुन । यी सबै ‘ए’ क्याटोगोरीका खेलाडी हुन् । विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएका मिडफिल्डर मणिकुमार लामा सर्वाधिक मूल्यमा बिक्री हुने पहिलो खेलाडी बने ।
उनलाई साबिक विजेता ललितपुर सिटी र एफसी चितवनले अन्तिमसम्म बोली लगाएका थिए ।उनको न्यूनतम मूल्य दुई लाख रुपैयाँ तोकिएको थियो । अक्सनमा उनीमाथिको बोली चार लाखसम्म पुग्दा पनि कुनै टोलीले नछाडेपछि लक्की ‘ड्र’ गरिएको थियो । जसमा ललितपुरले आफ्नो टोलीमा सामेल गराउन सफल भयो । उपाधि रक्षा गर्ने दाउमा रहेको ललितपुरले आठ लाख खर्चिएर दुई खेलाडी भित्र्याएको छ । ललितपुरले मणिसँगै सन्तोषलाई पनि अधिकतम रकम खर्चिएको छ । डिफेन्सिभ मिडफिल्डर सन्तोष यसअघि इलाममा थिए ।
डिफेन्डर अभिषेक र मिडफिल्ड सुमितलाई पनि चितवनले लक्की ड्रमार्फत आफ्नो टोलीमा भित्र्यायो । अभिषेकले यसअघि बुटवलबाट एनएसएल खेलेका थिए । सुमितले भने न्युरोड टिम (एनआरटी) बाट खेल्दै आएका छन् । लेफ्ट ब्याक पासाङ भने लुम्बिनीबाट धनगढी एफसी पुगे । सेन्ट्रल ब्याक आशिष भने इलामबाट झापा एफसी पुगे । यसपल्ट इलामले एनएसएल खेल्ने छैन । मिडफिल्डर दिनेश र सेन्ट्रल फरवार्ड जेलेस्पी पनि अधिकतम मूल्यमा काठमाडौं रेन्जर्समा भित्रिए । पहिलो संस्करणका विजेता काठमाडौंले यी दुई खेलाडीलाई ‘ड्र’ मार्फत नै आफ्नो टोलीमा भित्र्याएको हो । दिनेश अघिल्लो संस्करण ललितपुर र जेलेस्पी लुम्बिनीमा थिए ।
ए क्याटोगोरीमा नै राखिएका फरवार्डद्वय भरत खवास तथा नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु भने बिक्री हुन सकेनन् । यी तीन खेलाडी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन् । भरत र विकेश अघिल्लो संस्करण इलाम र नवयुग भने पोखरा थन्डर्समा थिए । तर, बिड र विस दुवैबाट कुनै टोलीले यी खेलाडीलाई भित्र्याउन चाहेनन् । नबिकेका खेलाडीलाई फ्रेन्चाइजीले विश लिस्टमार्फत भित्र्याउन पाउने नियम थियो । तर, उक्त लिस्टमार्फत् पनि उनीहरुलाई कसैले चुनेनन् ।