×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भुटानलाई हराउँदै बंगलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै बंगलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं- भुटानलाई फराकिलो गोलअन्तरले हराउँदै बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरे । एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।

खेलको १८ औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २–० को बनाए । ३० औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर बन्यो । खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४–० ले अघि रह्यो । दोस्रो हाफमा बंगलादेशले थप ४ गोल गर्यो ।

खेलको ५४ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाईन् । खेलको ५७ औं मिनेटमा प्रभिनले गोल गर्दा बंगलादेश ६–० ले अघि रह्यो । ८७ औं मिनेटमा खातुनले गोल गरेपछि बंगलादेश ७–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८–० को जित दिलाईन् ।

अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ ५ः३० बजे सुरु हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

प्रतिकृया दिनुहोस्