काठमाडौं । नेकपा एमाले भित्र देखिएकाे किचलाेकाे प्रभाव त्यसकाे विद्यार्थी संगठन अनेरास्ववियुमा पनि देखिन थालेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अनेरास्ववियुका तीन जना निवर्तमान सचिवलाई कारबाही गरेको छ। अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गर्नु भएको छ । तीनै जनालाई अनेरास्ववियुको साधारण सदस्यबाट समेत निष्कासन गरिएको अध्यक्ष महरले जनाउनुभएको छ ।
अनेरास्ववियु अध्यक्ष महर ओली पक्षका हुनुहुन्छ । लामा, आलम र पराजुली एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुनुहुन्छ । लामासहितका नेताहरूले १० चैतमा अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेका थिए । जसमा पराजुली अध्यक्ष, आलम सह–अध्यक्ष र लामा महासचिव रहेका थिए । त्यसपछि अध्यक्ष महरले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरिएको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष महरले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संगठनको निर्देशनलाई अटेर र घोर अपमान गरी स्पष्टीकरण नदिएकाले उहाँहरूलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’