काठमाडौं - चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको मनकामना केबलकार भोली(सोमबार) देखि पुनः सञ्चालनमा आउने भएको छ । मर्मत सम्भारपछि केबलकार फेरि सञ्चालनमा ल्याउन लागिएको हो ।
यसअघि मर्मत सम्भारका लागि भन्दै चैत ३१ गते मंगलबारसम्म केबलकार बन्द रहने भनिएको थियो ।
तर मर्मतको काम पूरा भएकाले १ दिन अगावै काम सम्पन्न भएकाले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबावु श्रेष्ठले बताए । उक्त केबलकारमा विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए ।
२०५५ साल मंसिर ८ गते देखि सञ्चालनमा आएको यस मनकामना केबलकारले २३ वर्ष पूरा गरेसँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ ।
पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।
सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरी नहुने सामान फेरिनेछ । दोस्रो चरणमा नयाँ प्रविधिका लागि पूर्वाधार तथा केही सामान थप्ने कार्य हुनेछ । यस्तै, तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।
जसअनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षासँगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।
अबको २ वर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ।