एजेन्सी/कोलम्बो- श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन् । उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ।
बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए । उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ । यसअघि उनी देश छाडेर भागेको भनिएको थियो । गत शुक्रवार यता कोलम्बोमा देखिएका थिएनन्। शनिवार राष्ट्रपति निवास प्रदर्शनकारीले नियन्त्रणमा लिएको थियो । त्यससमयमा उनी निवासमा नभेटिएपछि बंकरबाट भागेको आशंका गरिएको थियो ।
विभिन्न स्रोतहरुले उनी सोमवार नै दुईपटक भाग्न खोजेका थिए । परिवारसहितको १५ वटा पासपोर्ट पठाएर प्रोसेस गरिएकोमा बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलका अध्यगमन विभागका अधिकारीले सशरीर उपस्थित भएमात्र प्रक्रिया चलाउने भनेका थिए । त्यसपछि उनीहरुको यात्रा रोकिएको थियो ।त्यसैबीचमा उनले आफूले बुधवार राजीनामा दिने घोषणा गरेका थिए । माल्दिभ्स भागेसँगै उनी भागेका हुन् वा भगाएका हुन् भन्ने प्रश्नसमेत उठ्न थालेका छन् ।