×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इम्बोस्ड नम्बरको विवाद, कति छ इम्बोस्ड नम्बर प्लेटको मूल्य ?

इम्बोस्ड नम्बरको विवाद, कति छ इम्बोस्ड नम्बर प्लेटको मूल्य ?

काठमाडौं- आगामी साउन १ गतेदेखि सडकमा गुड्ने हरेक सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको हुनुपर्ने भन्नेबारे ’सेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न असुविधाप्रति’ यातायात व्यवस्था विभागले क्षमायाचना गरेको छ ।

मङ्गलवार पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै विभागले आफूले दिएको ४० दिनको समय सीमाभित्र ’अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने’ परियोजनामा परेका २५ लाखमध्ये केही प्रतिशतमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुने भन्दै आफ्नो ढिला–सुस्ती स्वीकारेको छ । विभागले अदालतबाट इम्बोस्ड नम्बर प्लेटबारे आदेश आइसकेको र राजपत्रमा सूचना पनि प्रकाशित भइसकेकाले लट अनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै जाने दृढता पनि प्रकट गरेको छ । यातायात व्यवस्था विभागले केही दिन अघि आगामी असारभित्रै वाग्मती र गण्डकी प्रदेशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी गरेपछि विभागको चर्को आलोचना भइरहेको थियो ।

एकथरीले पूर्वाधारविनै अनिवार्य गर्नु सही नभएको बताएका थिए भने अर्कोथरीले लागु गरेर पनि बिस्तारै पूर्वाधार बनाउँदै जान सकिने तर्क गरेका थिए । विभागका महानिर्देशक नमराज घिमिरेले चाहिँ निश्चित लटका सवारीसाधनमा मात्रै अहिले त्यस्तो नम्बर प्लेट अनिवार्य गर्न खोजिएको शनिवार बताएका थिए ।

सरकारले सुरक्षाका दृष्टिकोणले राम्रै गर्न चाहेकोले अन्यथा लिन नहुने कतिपय यातायात विज्ञको तर्क छ । प्राविधिक रूपमा र अरू देशको उदाहरण हेर्दा यो चानचुने कुरा नै हो। कतिपय दुर्घटनाको हकमा तत्काल उद्धार गर्न खोज्दा सवारीसाधन ’ट्रेस’ गर्न नसकेको पनि अवस्था छ । “इम्बोस्ड नम्बर प्लेट जडान भयो भने त्यसमा जीपीएस सिस्टम पनि हुन्छ। भनेपछि गाडी कहाँ छ कुन अवस्थामा छ कता जाँदैछ भन्ने पत्ता लगाउन पनि सकियो ।”

 
 

त्यो जडान गरेपछि गाडी हराउँदा अथवा चोरी हुँदा पनि पत्ता लगाउन सजिलो हुने उनको तर्क छ । सरकारी सेवाहरूको डिजिटल रूपान्तरण गर्ने कदम सकारात्मक रहेको यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक रूपनारायाण भट्टराई बताउँछन् । यद्यपि आवश्यक पूर्वाधारहरूको विकास नगरीकनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नु सरकारी कमजोरी भएको उनको ठम्याइ छ ।

प्लेट जडान गर्न कहाँ सम्पर्क गर्ने ?

उक्त नम्बर प्लेट प्राप्त गर्नका लागि सर्वसाधारणले यातायात व्यवस्था विभागको वेबसाइटमार्फत् आवेदन दिनुपर्ने हुन्छ । विभागका अनुसार आवेदकले पेस गरेका कागजपत्र प्रमाणीकरणको काम सम्पन्न भएपछि सिस्टमबाटै इम्बोस्ड नम्बर प्लेट जारी हुनेछ । त्यसपछि आवेदकले एउटा बार कोड प्राप्त गर्छन् । त्यो लिएर यातायात कार्यालयहरूमा गएपछि इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिन्छ । सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार प्रकारमा वर्गीकरण गरेको छ । सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ । त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ । सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत तीनै चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमा पर्ने बताइएको छ । इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनीको हकमा के कस्ता कारबाही हुने भन्नेबारे विभागले स्पष्ट रूपमा केही भनेको छैन ।

इम्बोस्ड नम्बर जडान गर्न शुल्क कति लाग्छ ?
सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ । ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ । विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ । एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेट लिने सवारी धनीले हाल प्रयोगमा रहेको नम्बरभन्दा फरक नयाँ नम्बर प्राप्त गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्