×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सोलुखुम्बुवासीलाई राहत: फाप्लु-काठमाडौं हप्तामा चार दिन नियमित उडान

सोलुखुम्बुवासीलाई राहत: फाप्लु-काठमाडौं हप्तामा चार दिन नियमित उडान

सोलुखुम्बु -  सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँका लागि अब सातामा चार दिन नियमित हवाई उडान हुने भएको छ, जसले स्थानीय बासिन्दा तथा व्यवसायीलाई ठूलो राहत मिलेको छ।

नेपाल एयरलाइन्सले यो रुटमा आफ्नो सेवा विस्तार गर्दै हप्ताको चार दिन उडान भर्न थालेको हो।


नेपाल नागरिक उड्डयन प्राधिकरण, फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले फाप्लु-काठमाडौँ रुटमा उडान भर्नेछ।

नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध रहेको यो हवाई सेवा जहाज मर्मत सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको प्राधिकरणका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले जानकारी दिनुभयो।

यसअघि साताको एक दिन मात्र उडान भर्दै आएको जहाज 'ग्राउण्डेड' हुँदा फाप्लुमा लामो समयसम्म उडान हुन सकेको थिएन।


नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुसदेखि चैत्र महिनासम्म यस मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो।

सल्लेरीका व्यवसायी महेश अधिकारीले जहाज नियमित हुन थालेपछि काठमाडौँ आवतजावत गर्न 'बीपी राजमार्ग'को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो। उहाँले भन्नुभयो, "तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन।" विगतमा जहाज नचल्दा धेरैले यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो।


पुनः सुचारु भएको उडानले पर्यटकीय जिल्ला सोलुखुम्बुमा पर्यटन व्यवसायीहरू समेत उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो।

यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्