काठमाडौं – प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिम प्रदेशले अन्तिम खेलमा सानत्वना जित निकालेको छ। समूह ‘ए’ अन्तर्गत आइतबार भएको अन्तिम खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो।
यस हासँगै सेमिफाइनल प्रवेश गर्ने प्रदेश १ को सम्भावना पनि टुंगिएको छ। प्रदेश १ प्रतियोगिताबाट बाहिरिँदा यस समूहबाट त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेको छ।
समूह ‘ए’ बाट लगातार ३ खेल जित्दै ६ अंककासाथ एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यता, समूहको उपविजेता बनेको आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ।
आइतबार भएको खेलमा १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि राजु रिजालले अर्धशतकीय इनिङ्स खेले। उनलेे ५२ बलमा ६८ रन बनाउन ९ चौका र २ छक्का प्रहार गरे।
यता, कप्तान सन्तोष भट्टले ४८ रनको योगदान दिए। उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्जुन साउद २६ रन जोड्दै अविजित रहे। प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले १–१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो। प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए। उनलेे २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सोनु अन्सारीले ३१, ओपनर मिनाश थापा र अकिंत सुवेदीले २३–२३ रन बनाए।
सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले २–२ विकेट लिए। कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले १–१ विकेट लिए।
समूह ‘ए’ मा सुदूरपश्चिमले ४ खेलमा २ मा जित र २ मा हार बेहोर्यो। यता, कर्णाली ४ खेलमा १ मा जित र ३ मा हार तथा प्रदेश १ ले ३ खेलमा जितविहीन हुँदै १ अंक बनायो।
प्रदेश १ ले आफ्नो अन्तिम खेल एपीएफविरुद्ध सोमबार खेल्ने छ।