सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र अन्य मापदण्डलगायत प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी आएको छैन। पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १३६ जनाको मृत्यु भएको छ ।
अधिकारीले निकै लामो समयपछि यहाँ यतिधेरै व्यक्तिको एकैदिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत छन् ।
यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । रासस