थुनामा रहेका नेता कार्यकर्तालाई रिहा गर्ने शर्तमा शान्ति प्रक्रियामा सामेल भएको विप्लव समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोशित बनेको छ ।
आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु बलुवाटार पुगेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए ।
उनले ओलीसँगको छलफलमा भने, ‘‘यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’’ उनले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताए ।
यसअघि विप्लव समूहले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक घटनाक्रमका कारण आफूले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गरेको बताइएको छ ।