×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको चुनावी ‘पार्टनर’ बन्ला त राप्रपा ?

एमालेको चुनावी ‘पार्टनर’ बन्ला त राप्रपा ?

काठमाडौं- पाँच दलिय गठबन्धनले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेपछि नेकपा एमाले पनि गठबन्धन गर्न दल खोजिरहेको छ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले पनि गठबन्धन बनाउने संकेत गरिसकेको छ। सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि सहमति जुटाउने प्रयास गरिरहँदा एमालेले पनि ‘पार्टनर’ खोज्न थालेको हो।

एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले मंगलबार मंसिर ४ गते हुने चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द नगरिएको बताएका थिए।

पत्रकारहरूसँग कुरा गर्दै गुरुङले एजेण्डा मिल्नेसँग गठबन्धनका लागि कुरा भइरहेको बताए। तर, उनले कुन-कुन दलसँग कुरा भइरहेको छ भन्ने खुलाएनन्।

‘आगामी सरकार नेकपा एमालेको बहुमतको सरकार बनाउने रणनीतिअनुसार राजनीतिक प्रतिवेदन तयार हुँदैछ’ गुरुङले भने, ‘गठबन्धन गर्नु हुँदैन भनेर ढोका बन्द गरेका छैनौँ, एजेण्डा मिल्नेसँग कुरा भइरहेको छ। हामी चुनौती सामना गरेर चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो। एक्लैले चुनाव जित्न सक्छौँ।’

कोसँग गठबन्धन हुँदैछ भन्ने पत्रकारको प्रश्नमा गुरुङले भने, ‘यो झ्याली पिटाउँदै हिँड्ने विषय होइन।’ १६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल गरेको अवस्थामा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ठूलो बनेको दल एमाले यसपटक कमजोर हुने देखिएको छ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि त्यसलाई नै देखाइरहेको छ। तर एमाले अध्यक्ष केपी शर्मा ओली भने गठबन्धन भएपनि आफूहरुलाई पराजित गर्न नसक्ने दावी गर्दै आइरहेका छन्।

चुनाव आउन तीन महिना बाँकी छ। तीन महिनाको अवधीमा कुन दलसँग कुन दलको तालमेल हुन्छ र देशको राजनीति कता जान्छ भन्न सकिँने अवस्था छैन।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलले तालमेल गरेर जाने सहमति गरिसकेका छन्। उनीहरू सिट बाँडफाटँको अन्तिम कसरतमा छन्।

आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र थियो। तर गठबन्धन भत्काउन नसक्ने भएपछि एमालेले निर्वाचनको लागि ‘पार्टनर’ खोज्न थालेको हो।

एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरेको थियो। तर उक्त सम्भावना पनि लगभग सकिएको छ।

लोसपाले पनि सत्ता गठबन्धनमै आउने प्रयास गरिरहेको छ। एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेलको प्रयास गरिरहेको बुझिएको छ। त्यसका लागि एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच केही दिन पहिले भेट पनि भइसकेको छ।

उक्त भेटमा तालमेल गरेर जाने विषयमा छलफल भएको र राप्रपा पनि सकारात्मक रहेको राप्रपाका एक नेताले जानकारी दिए। उनका अनुसार एमालेसँग करिब १० सिट लिएर चुनावी तालमेल गर्न सकिने राप्रपाको प्रस्ताव रहेको छ। तर, अहिलेसम्म ठोस निर्णय भने भइनसकेको पनि ती नेताले बताए।

राप्रपाका नेताको भनाइमा अहिले जसरी भए पनि राष्ट्रिय मान्यताप्राप्त दल बन्ने राप्रपाको रणनीति छ। सोही कारण एमालेसँग तालमेल गरेर सिट बढाउने रणनीतिमा राप्रपा छ।

सत्ता गठबन्धनका दलहरूको गठबन्धन कायमै रहे एमाले अन्य जुनसुकै दलसँग मिले पनि राम्रो नतिजा हात पार्ने अवस्था देखिँदैन।

प्रतिकृया दिनुहोस्