काठमाडौं - नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टि२० लिगको ड्राफ्टमा पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा ७ मार्की खेलाडी किनेका छन् ।
युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले किनेको छ । उनी पोखराको मार्की खेलाडीको रुपमा रहेका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई काठमाडौं कान्तिपुरले किनेको छ ।
अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले किनेको छ । त्यस्तै पोखराले शरद भेषवाकरलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । शरद मार्की खेलाडीको रुपमा भने छैनन् ।
अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल र सुबास खकुरेल भने ए मा बिक्न सकेनन् । त्यसैले उनीहरु बी मा झरेका छन् । अन्य ९२ जनालाई भने भोली ड्राफ्ट हुने भएको छ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।