एजेन्सी- संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ ।
खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल पनि गरेको छ । त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य संकट परेको जनाइएको छ ।
यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रूपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो । अहिले भने यही अप्रिलदेखि जुलाई महिनासम्ममा कम्तीमा पनि ६० लाख मानिस खाद्यान्न तथा अन्य आधारभूत आवश्यकताको अभावमा पर्ने समस्या देखिएको बताएको छ । जसका कारण यहाँका ६० लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ ।
सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ ।मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन् ।
यो वर्ष नै अप्रिलदेखि जुलाई सम्ममा नै ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो । यहाँका अधिकारीहरूले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्वन्द्वका कारण पनि मानिसहरूले खान पाएका छैनन् । संयुक्त राष्ट्रसंघीय प्रवक्ता स्टेफन डुजारिकले शुक्रवार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का सोमालियाका संयोजकले यहाँका कम्तीमा पनि ६० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको यसअघि नै बताएका थिए । सोमालियाको सरकारले संयुक्त राष्ट्रसंघीय अधिकारीहरूसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरूलाई आग्रह पनि गरेको बताइएको छ ।