×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किन सहज भएन जापानमा नेपाली बिद्यार्थीलाई ? यस्तो छ वास्तविकता

किन सहज भएन जापानमा नेपाली बिद्यार्थीलाई ? यस्तो छ वास्तविकता

काठमाडौ - विदेशमा अध्ययन गर्न जाने नेपालीका लागि प्रमुख शैक्षिक गन्तव्य बन्न पुगेको छ जापान। अस्ट्रेलिया, क्यानडा, अमेरिका, युरोप लगायतका देशहरूको तुलनामा खर्च कम लाग्ने, थोरै समयमा भिसा प्रोसेसिङ हुने र अंग्रेजी भाषा पनि आवश्यक नपर्ने भएकाले तुलनात्मक रूपमा मध्यम आर्थिक अवस्था भएका परिवारहरूको पनि रोजाइको देश बन्न पुगेको छ जापान। पहिला स्नातकोत्तर गरेपछि विदेश पढ्न जाने चलन बढी थियो। अचेल भने कक्षा १२ सकिसकेपछि वैदेशिक विद्यार्थीको रूपमा विदेशिने क्रम बढ्दो छ। नेपालमा चार-पाँच वर्ष अध्ययन गर्दा ६ देखि ७ लाखसम्म खर्च भएको हुन्छ, त्यसपछि पनि भविष्य अन्योल नै हुने देखेपछि परिवारले त्यही रकममा थपेर सन्तान बाहिर पठाइरहेका छन्। विदेशमा पढ्दापढ्दै वा पढिसक्नासाथ जागिर पाउने सम्भावना बढी देखेपछि पछिल्लो समय अभिभावक पनि लोभिएका छन्।
जापान सरकारले विदेशी विद्यार्थीलाई प्रवेशको बाटो सहज गराएको छ। जापान सरकारले सामान्यतया १२ कक्षा पास गरेर जापान आउने विद्यार्थीहरूलाई १.५–२.० वर्ष भाषा कक्षाहरू अनिवार्य गरेको छ। जापानमा अंग्रेजी भाषाको प्रयोग खासै गरिँदैन, त्यसैले जापानमा भाषाको माध्यम जापानी नै भएको कारणले उच्च शिक्षाका लागि दुई वर्षे भाषा कक्षा लिएर मात्रै सेनमोन वा दाइगाकुमा प्रवेश गरिन्छ। जापानमा राम्रो कलेज तथा युनिभर्सिटीमा प्रवेश पाउनका लागि शैक्षिक ज्ञान जति आवश्यक छ, त्यति नै भाषागत ज्ञान पनि महत्त्वपूर्ण छ।
जापानमा विद्यार्थीलाई चुनौती र अवसर दुवै छन्। जापान आइसकेपछि जापानको जीवनयापन सहज र सरल गराउनका लागि जापानमा विद्यार्थीलाई जापानको शिक्षा प्रणालीको मात्रै ज्ञान भएर पुग्दैन। त्यसैले जापान आउने सोच भएका विद्यार्थीहरूले जापान आउनुपूर्व जापानी भाषाको राम्रो तयारी गर्ने, जापानको रहनसहन, खाना, कल्चर, भौगोलिक अवस्था, नीतिनियम, कानुन, आफ्नो रुचिको विषय, रोजगारीको क्षेत्र आदिबारे पहिले नै सामान्य जानकारी लिनुपर्दछ। प्रायः विकसित देशहरूले आफ्नो देशको वैदेशिक नीति र शैक्षिक नीतिहरू समय-समयमा आफूअनुकूल परिवर्तन गरिरहन्छन्, जसमा विदेशी विद्यार्थीले काम गर्ने समय, काम गर्ने क्षेत्र आदि पर्ने गर्दछन्। यसको बारेमा पनि विद्यार्थी अवगत हुनुपर्ने हुन्छ।
जापानमा विद्यार्थी भिसामा आउने विद्यार्थीको प्रमुख उद्देश्य भनेको अध्ययन गर्नु भन्ने हुन्छ, नकि धेरै पैसा कमाउनु। पहिलो प्राथमिकता अध्ययनलाई दिएर जापान सरकारले तोकेको समय सीमामा रही पार्ट टाइम काम गर्न सकिन्छ। जापानमा धेरै जनशक्तिको आवश्यकता छ, रोजगारीका अवसरहरू धेरै छन्। त्यसैले आफूले आफ्नो भाषालाई प्रखर गराउनेतिर उन्मुख हुनुपर्दछ। भाषा राम्रो भयो भने सेनमोन गाक्को, दाइगाक्कोमा आफ्नो रुचिको विषय छानी अध्ययन गर्न सकिन्छ। यसो गर्दा आफ्नो रुचिको विषय र रोजगारीको क्षेत्र एउटै हुन पुग्दछ र काममा धेरै सफलता हात पार्न सकिन्छ। जापानमा विद्यार्थीको वास्तविकता र भ्रमबारे केही कुरा गरौँ।
जापानमा व्यावसायिक प्रशिक्षणहरू प्रदान गर्ने संस्थाहरूलाई नै भोकेशनल कलेजका रूपमा लिने गरिन्छ। यसको कोर्स सामान्यतया २ देखि ४ वर्षको हुने गर्दछ। सामान्यतया विदेशी विद्यार्थी यहाँको भोकेशनल वा दाइगाक्को उत्तीर्ण गरिसकेपछि जापानमा रोजगारीका लागि योग्य हुने गर्दछ। यसो भन्दै गर्दा सेनमोन पास गरेको विद्यार्थी सबै क्षेत्रमा रोजगारीका लागि योग्य हुने भन्ने होइन। भोकेशनल कलेजहरूमा पनि विभिन्न विषयहरू हुने भएकोले आफूले पढेको विषय र रोजगारीको प्रकार मिलेको खण्डमा मात्रै रोजगारीका लागि योग्य मानिन्छ। विदेशी पासआउट विद्यार्थीहरूका लागि विभिन्न क्याटेगोरी हुने गर्दछन्: इन्जिनियर/टेक्निकल एक्सपर्ट, स्पेशलिस्ट इन ह्युम्यानिटीज/इन्टरनेशनल सर्भिसेज, बिजनेस म्यानेजर, स्किल वर्कर, केयर वर्कर आदि। यदि अध्ययन पूरा भयो तर रोजगारीको अवसर प्राप्त गर्न सकिएन भने जम्मा एक वर्ष (६ महिना प्लस ६ महिना गरेर) 'रोजगारी खोजी भिसा' प्राप्त गर्न सकिन्छ।
समग्रमा भन्नुपर्दा, जापान अध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली विद्यार्थीहरूलाई सहज छैन। आफ्नो पढाइको चार वर्ष कमाउँछु भनेर जापान आउनेहरूलाई धेरै गाह्रो छ। विदेशी विद्यार्थीको सङ्ख्या बढेसँगै पार्ट टाइम २८ घण्टा काम पाउन पनि गाह्रो परेको अवस्था छ। आफू बुझ्दै नबुझी नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी)हरूले जापानमा पर्याप्त रोजगारीको अवसर र पढाइसकेपछि शतप्रतिशत रोजगारीको ग्यारेन्टी रहेको गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउन थालेपछि समस्या झन् विकराल बन्दैछ। त्यसैले नेपालमा सुने जस्तो र कन्सल्टेन्सीहरूले गरेको विज्ञापन जस्तो जापानको विद्यार्थी जीवन सहज छैन। यदि चार वर्ष मलाई धेरै पैसा कमाउनु पर्दैन, घर पठाउनु पर्दैन भन्ने छ भने दुई वर्ष राम्रोसँग मेहनत गरेर भाषा कक्षा पास गरी अर्को दुई वर्ष सेनमोन वा चार वर्ष दाइगाकु अध्ययन गरिसकेपछिको जीवन केही सहज भने अवश्य छ।
जापान आइसकेपछि विद्यार्थीहरूले पालना गर्नुपर्ने वा अपनाउनुपर्ने कुरा धेरै छन्:


अनुशासन: अनुशासन विद्यार्थीको गहना हो। अनुशासन सर्वपक्षीय कुराहरूमा आवश्यक छ; जस्तै: साइकल चलाउँदा, जेब्रा क्रसिङ गर्दा, पालो कुर्दा, कसैसँग कुरा गर्दा, कक्षाकोठामा बस्दा आदि।


हाजिरी: विद्यार्थीको हाजिरीले पनि श्युशोकु (रोजगारी) गर्ने बेलामा धेरै अर्थ राख्ने गर्दछ। यदि विद्यार्थीको एटेन्डेन्स ८०% भन्दा तल छ भने कलेजले सर्टिफिकेटहरू दिँदैन। ९० प्रतिशतभन्दा तल हाजिरी भएको खण्डमा पनि कतिपय कम्पनीहरूले नलिने गरेको पाइन्छ। त्यसैले विद्यार्थीहरूले आफ्नो हाजिरीलाई पनि ख्याल राख्नु जरुरी छ।


अवैध काम: जापान सरकारले विद्यार्थीहरूलाई बन्देज गरेका कार्यहरू गर्नु हुँदैन। धेरै पैसा कमाउने लोभमा मसाज सेन्टरहरूमा पार्टटाइम काम गर्ने, पाचिङ्कोहरूमा काम गर्ने कार्य गर्नु हुँदैन।


देशको कानुन: हामी जुन देशमा छौँ, त्यो देशको कानुन हामीले मान्नुपर्ने हुन्छ। "मेरो देशमा यस्तो थियो" अथवा "मलाई जानकारी थिएन" भनेर हुँदैन। देशको कानुन जानेर वा नजानेर उल्लङ्घन गरे कारबाहीको भागीदार अवश्य हुनुपर्दछ।
जापानमा विदेशी विद्यार्थीहरूको वृद्धिसँगै विभिन्न समस्याहरू पनि आइरहेका छन्। सुरु-सुरुमा आफ्नो भाषागत समस्याले गर्दा सिटी अफिसबाट आएका डकुमेन्टहरू, ट्याक्सका बिलहरू, बिजुली, पानी, ग्यास, मोबाइलका बिल, क्रेडिट कार्डका बिलहरू समयमा तिर्न नसक्नु वा नजान्नु। आफूले कुन विषय अध्ययन गर्ने हो र कसरी रोजगारी छिटो प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी नहुनु। कलेजले दिने स्कलरशिपहरूको जानकारी नहुनु। राम्रो कलेज तथा युनिभर्सिटीहरूको बारेमा जानकारी नहुनु पनि जापान बसाइलाई असहज गराउने कारणहरू हुन्। त्यसैले विदेशमा आफ्नो बुवाआमा, अभिभावक जे भने पनि आफ्ना साथीभाइ, इष्टमित्र हुन्। साथीहरू बनाउँदा पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ: साथी कुलतमा फसेको छ कि छैन? आनीबानी, आचरण के-कस्तो छ? कस्तो किसिमको साथीहरूको सङ्गतमा छ? ती कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ, किनभने साथीकै गलत कारणले जापानमा धेरै विद्यार्थीहरू कानुनी कारबाहीमा परेको तथ्याङ्क छ।
समग्र रूपमा भन्नुपर्दा, विद्यार्थी जीवन जापानको सुरुवाती चरण हो। यहाँ घरपरिवारदेखि टाढा, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ रहनसहन, नयाँ खाना, नयाँ साथी, नयाँ कलेज, भाषाको कम ज्ञान - सबै कुराहरू एकै पटक पर्ने हुँदा विद्यार्थी मानसिक रूपमा पनि विक्षिप्त भई डिप्रेसनको सिकार भएका तमाम घटनाहरू पनि देखिन्छन् भने अर्कोतिर मध्यमवर्गीय परिवारबाट आएको विद्यार्थीलाई आर्थिक रूपले पनि पिरोलिरहेको हुन्छ। धेरै काम गरौँ, भिसा नलाग्ने डर; थोरै काम गरौँ, आफ्नो खर्च पनि नपुग्ने डर हुन्छ। त्यसैले विद्यार्थी आफैँ संयमित भएर अनावश्यक खर्चहरू कटौती गर्ने, जापान सरकारले विद्यार्थीहरूलाई अनुमति दिएको समय सीमामा रहेर पार्ट टाइम काम गर्ने, जापानी भाषा राम्रो गराउने, आफ्नो सेल्फ स्किल डेभलप गर्ने, नयाँ साथीहरू, अग्रजहरूसँग आफ्ना समस्याहरू शेयर गर्ने, नबुझेका कुराहरू आफ्नो सिनियरसँग बुझ्ने। कानुनी कुराहरू छन् भने नेपाली दूतावास अथवा NRNA जस्ता सामाजिक संस्थाहरूसँग सहयोग माग्ने। संस्थामा धेरै व्यक्तिहरू आबद्ध भएको हुनाले विषयगत विज्ञसँग पुग्न सजिलो भई समाधानमा टेवा पुग्नेछ।
सामान्यतया नेपाली विद्यार्थीहरू जापान आउनुको उद्देश्य अध्ययन भनिए तापनि प्रमुख उद्देश्य भनेको रोजगारी गरी पैसा कमाउनु हो। मध्यम आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरू नेपालमा ब्याजी पैसा ऋण खोजेर आएका हुन्छन् र जापान गइसकेपछि धेरै कमाइन्छ भन्ने कन्सल्टेन्सीहरूको मिठो र भ्रामक काउन्सिलिङ र आफ्नै आफन्त, भाइ, साथीहरूले फेसबुक र इन्स्टाजस्ता सामाजिक सञ्जालमा राखेका आकर्षक तस्बिर, सिन (दृश्य), समुन्द्र र आफूले इन्स्टलमेन्टमा लिएका विभिन्न ग्याजेटहरूको प्रयोगले उनीहरूको मन लोभ्याएको देखिन्छ। विद्यार्थी भिसामा जापान आउने विद्यार्थी नेपालबाट १२ पास गरी आउने भएकाले विद्यार्थीको उमेर पनि कलिलै हुने भएकाले साथीहरूकै लहलहैमा आफ्नो घरको आर्थिक अवस्था कस्तो छ? विद्यार्थी भिसामा काम गर्न पाइन्छ कि पाइँदैन, यसका सीमाहरू के-के छन्? कमाइ कति हुन्छ? दुई-चार वर्ष परिवारले मेरो खर्च धान्न सक्छ कि सक्दैन? ब्याज खोजेको भए ब्याज तिर्न सक्छ कि सक्दैन? आफ्नो मेहनत गर्ने बानी छ कि छैन? आफ्ना व्यक्तिगत कार्यहरू जस्तै: खाना बनाउने, भाँडा सफा गर्ने, कोठा सफा गर्ने, कपडा मिलाउने, कपडा आइरन गर्ने, साइकल/स्कुटरहरू चलाउने, गुगल म्याप प्रयोग गर्ने, आफ्नो शरीरले चिसो-तातो पचाउन सक्छ कि सक्दैन जस्ता कुराहरूको बारेमा सामान्य जानकारी पनि नलिई सीधै जापान आउँदा धेरै दुःख खेप्नुपरेको देखिन्छ।
आफू नेपाल हुँदा सोचेको जापान र आफू जापान आइसकेपछि भोगेको जापान जब विपरीत लाग्न सुरु हुन्छ, तब विद्यार्थीको आर्थिक परिस्थितिसँगसँगै मनस्थिति पनि कमजोर हुन गई विभिन्न किसिमका (डिप्रेसन, एन्जाइटी) जस्ता मनोरोग व्याप्त मात्रामा नेपाली विद्यार्थीमा देख्न सकिन्छ। जापान सरकारले विदेशी विद्यार्थीहरूको हकमा कानुनी रूपमा एक हप्तामा २८ घण्टा छुट्ट्याएको छ। उक्त २८ घण्टा कामले विद्यार्थीलाई दैनिक खर्च, कोठाभाडा, लत्ताकपडा, खाना आदि चलाउन पनि मुस्किल पर्छ। सुरुमा आउँदा भाषाको राम्रो ज्ञान नहुँदा सुरुको ४ देखि ६ महिना काम नपाइने अवस्था पनि रहन्छ। झन् कोभिड-१९ ले जापानको अर्थ व्यवस्था र रोजगारीको दर पहिलाको तुलनामा धेरै नकारात्मक हुँदै गुज्रिरहेको छ, जसको प्रत्यक्ष प्रभाव विदेशी विद्यार्थीहरूमा पनि देखिन गएको छ।
दुई वर्षमा भाषा स्कुलहरू सकाइसकेपछि पनि विद्यार्थीले राम्रोसँग पढेको छ कि छैन, विद्यालयमा हाजिरी कस्तो छ, अनुशासन, भाषाको स्तर कस्तो छ जस्ता आधारहरूमा सेनमोन कलेज र युनिभर्सिटीहरूले विद्यार्थीको छनोट गर्ने गर्दछन्। जापान अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई वर्किङ भिसामा परिवर्तन नगरुन्जेल औसतमा भन्नुपर्दा धेरै जटिल नै छ। अहिले विश्वमै बेरोजगार बढ्दो छ, त्यसमा जापान पनि अछुतो छैन। कोरोनापछिका दिनहरूमा विदेशी विद्यार्थीहरू जापान भित्रिने दर धेरै बढेको देखिन्छ भने अर्कोतर्फ पर्यटकहरू भित्रिने दर कम भएका कारण होटल, रेस्टुरेन्ट, कफी सप, फास्टफुड सेन्टरजस्ता व्यवसायहरू पनि साँघुरिँदै गएका कारण पार्ट टाइम काम पाउन धेरै गाह्रो छ, जसको प्रत्यक्ष असर विद्यार्थीहरूको रोजगारीमा पर्न जान्छ।
पछिल्लो समय जापानमा जापानी भाषा स्कुल (निहोङ्गो गाक्को) हरू धेरै खुलिरहेका छन् र त्यसको तुलनामा सेनमोन कलेजहरू कम छन्, जसले गर्दा भाषा र भाषागत ज्ञान कम भएका विद्यार्थीहरूलाई कलेज पाउन धेरै मुस्किल छ। नेपाल जाऊँ, आफू आउँदा लागेको ऋण ज्यूँका त्यूँ छ, यता कलेजले लिँदैन। यसकारण पनि अरू विभिन्न बहाना बनाई रिफ्युजी (शरणार्थी) एप्लाई गर्ने र दुई-चार वर्ष बसेर सकिनसकी आएको ऋण तिरेर नेपाल फर्कने नेपाली विद्यार्थीको जमात पनि धेरै नै छ भने अर्कोतर्फ धेरै र छिटो पैसा कमाउने लोभमा जापान सरकारले तोकेको समय सीमाभन्दा धेरै काम गर्दा भिसा रिन्यु नभएका कारण पीडित हुनुपरेको देखिन्छ। नेपाली विद्यार्थीको आर्थिक समस्यासँगसँगै समय व्यवस्थापन गर्न नसक्नु पनि अर्को प्रमुख समस्या हो। विद्यालयको समय र नियमविपरीत ३-४ ठाउँमा धेरै घण्टा काम गर्दा सुत्ने, आराम गर्ने समय नहुने, आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिने, कलेजमै सुत्ने, काममै सुत्ने कारणले गर्दा पनि नेपाली विद्यार्थीहरू बेलाबेलामा विभिन्न निकायबाट आलोचित भएको पाइन्छ। भर्खर प्लस टु सकाएको १८-२० वर्षको कलिलो दिमाग, गलत प्रवृत्ति भएका साथीहरूको लहलहैमा लागेर अत्यधिक मद्यपान गर्ने, काम/कलेज नजाने (चिकोकू हुने), ट्रेन, कोठा, रेस्टुरेन्ट, पार्कहरूमा होहल्ला गर्ने, झैझगडा गर्ने, निषेधित क्षेत्रमा भिडियो बनाउने, टिकटक बनाउनेजस्ता मर्यादाविपरीतका हर्कतहरू पनि देखिन्छन्।
अब जाऊँ जापानमा विद्यार्थीहरूका सकारात्मक पक्ष र यसको वास्तविकतातिर। जापान इमानदार र मेहनतीलाई अवसरै अवसरको देशका रूपमा लिइन्छ। विश्वको सुरक्षित र अनुशासित देशहरूको सूचीमा अग्रस्थानमा नाम आउने गर्दछ। यहाँ अवसरको खोजीमा विभिन्न माध्यमबाट जापान आई रोजगारी गर्नेको सङ्ख्या धेरै छ। अंग्रेजी भाषा तुलनात्मक रूपमा कम चल्ने र यहाँको भाषा र लिपि अलि गाह्रो भएको कारण विद्यार्थी भिसामा जापान आउने विद्यार्थीहरू सामान्यतः १-२ वर्ष भाषा कक्षाका कोर्सहरू पूरा गरिसकेपछि आफूलाई मन परेको विषय रोजी भोकेशनल कलेज तथा युनिभर्सिटी गई अध्ययन गर्ने गर्दछन्। जापानको शिक्षा प्रणाली धेरै प्रयोगात्मक र व्यावहारिक छ, जसकारणले गर्दा जेहेन्दार विद्यार्थीहरूलाई आफूले सिकेको अनुभव र सीप तुरुन्तै भोलिका दिनहरूमा आफूले प्रयोगमा ल्याउन पाउँदछन्। जापानमा दक्ष कामदारहरू खोज्नका लागि विभिन्न कम्पनीहरू सोचुग्यो (ग्रेजुएसन) नहुँदै कलेज तथा युनिभर्सिटीहरूमा कम्पनी र कामको बारेमा जानकारी गराउने र इच्छुक, जसमा मेहनती, अनुशासित र भाषा सम्बन्धित विषयको ज्ञान भएका विद्यार्थीहरूलाई अफर लेटरहरू दिने, स्कलरशिपहरू दिने पनि गरेको देखिन्छ। नेपाली विद्यार्थीहरूको एउटा प्लस पोइन्ट भनेको धेरै भाषाहरू बोल्न सक्नु पनि हो। नेपाली विद्यार्थीहरू (अंग्रेजी, हिन्दी, जापानी) भाषाहरू स्पष्टसँग बोल्न सक्ने हुँदा विभिन्न मल्टिनेशनल कम्पनीहरूमा प्रवेशका लागि तुलनात्मक रूपमा अरू देशका विद्यार्थीहरूलाई भन्दा सहज छ।
सारांशमा भन्नुपर्दा, अहिले जापानमा नेपालीहरू क्रमिक रूपमा बढिरहेको कारण विभिन्न किसिमका सामाजिक संस्थाहरू पनि खुलिरहेका छन् र ती संस्थाहरूले नेपाली विद्यार्थीहरूका समस्याहरूलाई कसरी समाधानमैत्री गराउन सकिन्छ भनेर विभिन्न विषयका विज्ञहरूलाई राखेर विचार गोष्ठी र परामर्शहरू पनि गरेको देखिन्छ। यस्ता किसिमका कार्यक्रमहरूमा सहभागी भई नेपाली विद्यार्थीले आफ्नो विद्यार्थीजीवनलाई उपलब्धिमूलक बनाई आफ्नो त्यसपछिको वर्किङ लाइफलाई सरल, सहज अनि उपलब्धिमूलक गराउन सक्दछन्।

प्रतिकृया दिनुहोस्