काठमाडौ - शिक्षक महासंघको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण डेढ महिना ढिलो सुरु भएकाले एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। यसले गर्दा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा दिने राष्ट्रिय परीक्षा बोर्डको तालिका प्रभावित भएको हो।
समयमै नतिजा नआए विदेश अध्ययनको अवसर गुम्ने भन्दै विद्यार्थीहरु चिन्तित छन्। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार, शिक्षक आन्दोलनले गर्दा सामान्यतया परीक्षा सकिएको एक सातापछि सुरु हुने परीक्षण कार्य यसपटक डेढ महिना ढिलो भयो। सबै उत्तरपुस्तिका परीक्षण भई प्राप्त भएपछि पनि बोर्डलाई नतिजा निकाल्न करिब ३५ दिन लाग्ने उनले बताए।