काठमाडौं- नेकपा एमालेले आफ्नो भात्रि विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको यो निर्णयसँगै वर्तमान महासचिव नरेश रोकायासहित अधिकांश पदाधिकारीहरू संगठनबाट बाहिरिने भएका छन्।
उमेर हदका कारण उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती, गोविन्द गिरी तथा सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि बाहिरिनेछन्। ३२ वर्षमुनिका सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले भने नेतृत्वमा दाबी गर्न पाउनेछन्।
यो निर्णय यही जेठ २५–२८ मा कीर्तिपुरमा हुने अनेरास्ववियुको महाधिवेशनबाट लागू हुनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको अर्को पटकदेखि लागू गर्ने प्रस्तावलाई अस्वीकार गर्दै यही महाधिवेशनबाट उमेर हद कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।